अर्थ

पहिलो तीन महिनामा राजस्व संकलनभन्दा खर्च एक प्रतिशत बढी

चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व सङ्कलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । यद्यपि आम्दानीभन्दा खर्च एक प्रतिशत बढी भएको छ ।

महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्च गरेको छ ।

चालु आवका लागि सरकारले रू १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख बराबरको बजेट ल्याएको थियो । पहिलो त्रैमासिक अवधिमा रू दुई खर्ब ८० अर्ब ५७ करोड २५ लाख बराबर बजेट खर्च भएको छ । जुन खर्च वार्षिक विनियोजनको १६ दशमलव दुई प्रतिशत बराबर हो ।

यो अवधिमा सरकारले चालुतर्फ १८ दशमलव ६९, पुँजीगततर्फ पाँच दशमलव नौ र वित्तीय व्यवस्थातर्फ १६ दशमलव ०५ प्रतिशत बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्कबाट देखिन्छ ।

चालु शीर्षकमा रू ११ खर्ब ४१ अर्ब ७८ करोड बराबरको वार्षिक बजेट रहेकोमा असोज मसान्तसम्ममा रू दुई खर्ब १३ अर्ब ३९ करोड बराबर खर्च भएको छ ।

त्यस्तै, पुँजीगत शीर्षकमा रू तीन खर्ब दुई अर्ब सात करोड बराबरको वार्षिक बजेट रहेकामा हालसम्म रू १७ अर्ब ८३ करोड ३१ लाख बराबर खर्च भएको छ ।

वित्तीय व्यवस्था शीर्षकमा रू तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर बजेट छुट्याइएकामा पहिलो त्रैमास अवधिमा रू ४९ अर्ब ३४ लाख ९० हजार बराबर खर्च भएको छ ।

हालसम्मको सरकारी राजस्व सङ्कलन हेर्दा रू दुई खर्ब ३४ अर्ब ६३ करोड २४ लाख बराबर रहेको छ । जुन वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत बराबर हो । सरकारले चालु आवका लागि रू १४ खर्ब ७२ अर्ब ४८ लाख ४७ हजार बराबर वार्षिक राजस्व उठाउने लक्ष्य राखेको छ ।

पहिलो त्रैमासमा सङ्कलन भएको राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको १५ दशमलव २८ प्रतिशत अर्थात् रू एक खर्ब ९९ अर्ब ४६ करोड २१ लाख र गैरकर राजस्वतर्फ वार्षिक लक्ष्यको १६ ददशमलव ७९ प्रतिशत अर्थात् रू १९ अर्ब ६५ करोड ३० लाख बराबर रहेको छ ।

चालु आवका लागि रू ४९ अर्ब ९४ करोड ३० लाख बराबर वैदेशिक अनुदान लिने लक्ष्य राखेको सरकारले हालसम्म वार्षिक लक्ष्यको शून्य दशमलव १२ प्रतिशत अर्थात् रू ६ करोड १८ लाख बराबर अनुदान लिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.