बिचार

दशैंको प्रारम्भ, महत्व र परम्परा तथा जीव–जगत

आज नेपालीहरुको घरआँगनमा विशेष दिन अर्थात् शुभ विजया दशमी । असत्यमाथि सत्यको जीतको प्रतीकका रुपमा सामाजिक–पारिवारिक मिलनको क्षण अर्थात दशैंको टीका लगाउने दिन ।

दशैंको विशेषता र परिचयबोधक अन्य गतिविधि प्राच्य वाङ्मयमा अनेक छन् । देवी भागवत, मार्केण्डेय पुराण, ब्रह्माण्ड पुराण, शाक्तागम, शाक्तप्रमोद लगायतका ६४ ग्रन्थमा देवी अथवा मातृशक्तिको भक्तिभाव महिमाको वर्णन छ ।

शाक्त तन्त्रको सङ्ख्या एक हजारभन्दा बढी छ । “मन्त्र महावर्त” तन्त्रको विश्वकोश हो । शक्ति उपासकले साधन गर्ने यस्ता तन्त्रको शारदा तिलक लगायतमा रहस्यमय विस्तृत विवरण सँग्रहित छन् ।

तन्त्रग्रन्थमा सूक्ष्म रहस्यमय विद्याको विपुल भण्डार छ । यस्ता सैकडौं तन्त्रग्रन्थ र तिनका साधकले शक्ति उपासना गर्ने समय पनि दशैंको नवरात्र मुख्य हुन् । चैते दशैं, बडा दशैं ऋतुचक्रको फरक परिवेशमा मनाइन्छ ।

वसन्त ऋतुमा मनाउने चैते दशैं र शरद ऋतुको बडा दशैं विशेष उल्लेख्य दशैं हुन् । यी दशैंका नवरात्रको अप्रभंश ‘नौरथा’को विशेषणद्वारा घरघरमा बाल–वृद्ध परिचित छन् । यस्ता नवरात्र अर्थात् दशैं अरू ऋतु वा महिनामा पनि छन् । तर ती यसरी भव्यतापूर्वक विधिविधानले मनाइदैन ।

वैदिक दशैं वैदिक विधिपूर्वक मनाइने दशैं हो । तान्त्रिक दशैं तन्त्र साधनाद्वारा जगाइएका तान्त्रिक विधानद्वारा मनाइन्छ । सामान्य रूपमा मनाइने दशैंमा वैदिक र तान्त्रिक दुबै विधानको केही न केही अंश हुन्छ । त्यो पनि विकृतिले ग्रसित हुँदैगएको छ । दशैंलाई सांस्कृतिक चाड मान्ने र मनोरञ्जन वा औपचारिकता पूरा गर्न मात्रै मनाउने पनि छन् ।

वैदिक दशैं सुसंस्कृतिको, पौरस्त्य सभ्यताको, उच्चतम् जीवनशैलीको परिचयबोध गराउने दशैं हो । तान्त्रिक दशैं साधकहरूले शक्ति उपासनाद्वारा प्रकृतिका रहस्यसँगको संवाद हो । सामान्य दशैं परम्पराको बीडो थाम्दै मिठो खाने, राम्रो लगाउने, मनोरञ्जनमा सीमित दशैं हो । यसरी दशैंको पूर्वीय जीवनशैलीमा विविध प्रभाव छ । दशैंको यस्तो प्रयोग वा परिचयमा यस सम्बन्धमा प्रकाश पार्ने वाङ्मयमा वैदिक र तान्त्रिक सूक्तहरू छन् । यस्ता मन्त्रहरूको यथास्थान विशेषता छ ।

वेदोक्त रात्रिसूक्तको यी आठ मन्त्रको भाव हो– महत्तत्वादि रूप समस्त वस्तु विशेष र सब दिशा र देशमा व्यापक इन्द्रियमा प्रकाशित गर्ने रात्रिरूपा देवी आफैँद्वारा उत्पन्न भएको जगत् र जीवको शुभाशुभ कर्महरूको प्रत्यक्ष अनुगमन गर्दै त्यसै अनुरूप फलको व्यवस्था गर्न समस्त विभूतिहरूको धारण गर्दछिन् ।

यी देवी अमर छिन् । सम्पूर्ण विश्वभरका उधो झर्ने र फैलने लतादि तथा माथि उठ्ने र बढ्ने वृक्षादि समेतको सम्पूर्ण अवयव र मूलरूढमा व्याप्त भएर वीज–वीजांकुरमा स्थित छिन् । ज्ञानमयी ज्योतिले जीवहरूको अज्ञानन्धकारको नाश गर्छिन् ।

पराशक्ति रूपमा रात्रिदेवी आफ्नै बहिनी ब्रह्मविद्यामयी उषादेवीको प्रभावद्वारा अविद्यामय अन्धकारको नाश गर्छिन् ।

जसरी रात्रिमा पंक्षीहरू आफ्नो गुँडमा रूख–वृक्षमा सुखपूर्वक शयन गर्छन् त्यसरी नै रात्रिदेवीको प्रसन्नताकै फलस्वरूप आआफ्नो घरमा सुखपूर्वक निद्रारूपी आनन्दका साथ हामी मनुष्य जाति सुख रात बिताउँछौं । यी नै मनुष्य, चारखुट्टे पशु, पखेटाद्वारा उडान गर्ने पक्षी–पतंग कुनै प्रसङ्गमा यात्रा गरिरहेको पथिक समेत आनन्दकै साथ मस्त निदाउँछ ।

हे रात्रिदेवी तिमीले कृपा गरेर वासनामयी वृको तथा पापमयी वृको संसर्गबाट हामीलाई अलग राख । यसरी नै काम, क्रोध लगायतका तस्कर समुदाय पनि टाढै राखिदेउ, मोक्षदायिनी कल्याणकारी हे देवी हाम्रा लागि सुख–सुविधा जुटाएर भवसागर पार तर्न शक्ति देउ ।

हे उषा रात्रिकी अधिष्ठात्री चारैतिर फैलिएको अज्ञानमय कालो अन्धकार मेरो नगिचै छ । तिमीले यसलाई टाढा भगाइदेउ । जसरी आफ्ना भक्तलाई धन दिएर ऋण मुक्त गछ्र्यौ त्यसरी नै ज्ञान दिएर अज्ञानलाई हटाइ द्यौ ।

हे रात्रिदेवी ! परम व्योमस्वरूप परमात्माकी पुत्री तिम्रा कृपाद्वारा काम, क्रोधादि शत्रुहरूलाई जितिसकेको छु । तिमी मेरो यो हविष्य ग्रहण गर ।

यसरी नै अथर्ववेदमा ठुलो महिमाका साथ श्री देव्यथर्व शीर्षकमा यस्ता सूत्रहरूको उल्लेख छ ।

वेदोऽहमवेदोऽहम् । विद्याहमविद्याहम् । अजाहमनजाहम् । अधश्चोध्र्वं च तिर्यक्चाहम् । अहं रूद्रेर्भिवसुभिश्चरामि । अहमादित्यैरुत विश्वदेवैः । अहं मित्रावरूणावुभौ बिभर्मि । अहमिन्द्राग्नी अहमश्विनावुभौ । अहं सोमं त्वष्टारं पूषणं भगं दधामि । अहं विष्णुमुरूक्रमं ब्रह्माणमुत प्रजापतिं दधामि । अहं दधामि द्रविणं हविष्मते सुप्राव्ये यजमानाय सुन्वते । अहं राष्ट्री सङ्गमनी वसूनां चिकितुषी प्रथमा यज्ञियानाम् । अहं सुवे पितरमस्य मूर्धन्मम योनिरप्स्वन्तः समुद्रे । य एवम् वेद । स दैवीं सम्पदमाप्नोति ।……… इत्यादि ।

भावार्थ :
देवताहरूले देवीको प्रार्थना गर्दै विनम्रतापूर्वक प्रश्न गरे –
हे महादेवी तिमी को हौ ?
देवीले उत्तर दिइन्– म ब्रह्मस्वरूपिणी हुँ । मबाटै प्रकृति–पुरूषात्मक सद्रुप र असदु्रप जगत् उत्पन्न भएको हो । म नै आनन्द र आनन्दरूपा हुँ । म विज्ञान र अविज्ञानरूपा हुँ । जान्नैपर्ने योग्य ब्रह्म र अबह्म पनि मै हुँ । पञ्चीकृत र अपञ्चीकृत महारूप पनि मै हुँ । यो सारा दृश्य जगत् मै नै हुँ । वेद र अवेद, विद्या र अविद्या अजा र अनजा (प्रकृति र उसभन्दा भिन्न) तल र माथि यता र उता जताततै म नै हुँ । मैले नै बसुहरूका र रूद्रहरूका रूपमा सञ्चार गर्छु । आदित्य, विश्वदेवका रूपमा घुमफिर गर्छु । मित्र र वरूण एवम् अग्नि अश्विनी कुमार लगायतको भरण–पोषण–रक्षण मैले नै गर्छु ।

म त्वष्टा, पूषा, सोम र भग धारण गर्छु । त्रैलोक्यमा विस्त्तीर्ण भएका विष्णु, ब्रह्मदेव लगायत प्रजापतिलाई मैले नै धारण गरेकी छु । देवताहरूलाई उत्तमोत्तम हवि पु¥याउन र सोमरस लगायतका रस पैदा गर्नेवाला यजमानका लागि हविद्र्रव्ययुक्त धन धारण गर्छु । यो सम्पूर्ण जगत्को उपासकहरूलाई धन दिने ब्रह्मरूप मै हुँ । मबाटै आत्मस्वरूप आकाशदि निर्माण हुन्छन् । आत्मस्वरूप धारण गर्ने बुद्धिवृत्तिमा मेरो स्थान छ । यसरी जसले मलाई चिन्दछ त्यसलाई दैवी सम्पत्तिको लाभ हुनेछ ।

यसरी वर्षदिन र ४० नवरात्र नवरात्रिको रूपमा दशैंको शास्त्रीय चर्चा व्यापक छ । एक वर्षमा चालिसवटा नवरात्र हुन्छन् । वर्षभरका ३६० रात सबै नवरात्र हुन् । प्राच्यमा दिनको साथै रात्रिको विशेष महत्व छ । यस सम्बन्धी वाङ्मयमा त्यसको दशांश चारोटा नवरात्रको उपासना विधिपूर्वक सम्पन्न गरिन्छ । यसमध्ये दुईवटा नवरात्र खास उपासनाका लागि विधिपूर्वक व्यवस्थित छन् । चैते दशैंभन्दा बडा दशैं अर्थात् शरद ऋतुमा मनाइने दशैंको भव्य स्वागत गरिन्छ । यही अवसरमा कालरात्रिको अर्को प्रयोग पनि शक्ति उपासकहरूले गर्दछन् ।

शास्त्रीय चर्चामा प्रथम नवरात्र हो– आषाढ शुक्ल प्रतिपदादेखि नवमीसम्म । अर्को नवरात्र माघ शुक्ल प्रतिपदादेखि नवमीसम्म । यस्तो नवरात्रिको चर्चा शास्त्रमै सीमित रह्यो । लौकिक जनजीवनमा कुनै चाडपर्वको रूपमा यस्ता नवरात्रलाई दशैं भनेर मनाइएन । तर प्रकृतिमा आषाढ महिना र माघ महिनाको विशेषता वर्णनातीत छ ।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्मको नवरात्रलाई बडादशैं र चैत्र शुक्ल प्रतिपदादेखि राम नवमीसम्म चैते दशैंका रूपमा दुईवटा दशैं मनाउने परम्पराले निरन्तरता पाएको छ । यसरी दशैं सांस्कृतिक र सभ्यता तथा जीवनशैलीको एक महत्वको पर्व भएको छ ।

माघ शुक्ल प्रतिपदादेखि नवमीसम्म, आषाढ शुक्ल प्रतिपदादेखि नवमीसम्मका नवरात्र विस्मृतिको गर्तमा धकेलिए पनि आषाढ महिना र माघ महिनाको विशेष महत्व यथास्थान रहेको तत्तत् सम्बन्धी वाङ्मय र लौकिक व्यवहारमा स्पष्ट देखिन्छ । पूर्वीय जीवनशैलीले महिना, सप्ताह, दिनका साथै पल–प्रतिपलको समयलाई विशेष महत्व दिन्छ । प्रहर–प्रहरको हिसाबमा समयलाई शुभ, अमृत, चर तथा कालबेलाका रूपमा विभाजन गरिएको छ ।

चैत्र शुक्ल नवरात्र मर्यादा पुरूषोत्तम श्रीरामको विजय यात्रासँग पनि सम्बद्ध छ । श्रीरामले देवी भवगतीको स्तुती गरेर देवीलाई प्रसन्न बनाएर शक्ति संचय गरेर रावणमाथि विजय हाँसिल गर्ने वरदान प्राप्त गरेको प्रसङ्गले चैते दशैं विजय महोत्सवकै रूपमा मनाइन्छ । बडादशैं आश्विन शुक्ल पक्षको नवरात्र वेदोक्त शास्त्रीय प्रमाणमा आधारित छ । दैत्य–दानवको आसुरी शक्तिमाथि विजय हाँसिल गरेर दैवी शक्ति, प्रकृति र सृष्टि संरचनाको ईश्वरीय व्यवस्थालाई सुरक्षित, सुव्यवस्थित गर्न निरन्तर प्रकृतिलाई उत्प्रेरित गर्ने हेतुले विविध रूपका कार्यको निमित्त शक्ति प्रदान गर्ने विवरण संस्कृत वाङ्मयमा छन् । शाकम्भरी देवीको रूपमा शाकाहारीको भरण–पोषण, शक्ति सम्बद्र्धन गर्न शक्ति प्रदान गरेको शास्त्रीय विवरण यसको उदाहरण हो ।

दशैंमा गणेश लगायतका देवतादेखि वनस्पतिसम्मका स्थावरजङ्गमका सबैको पूजा हुन्छ । घडाको जलभित्र वरूणदेव हुन्छन्, जमरा वनस्पतिदेव हुन् । आसुरी प्रवृत्तिका प्रतीक काम, क्रोध, लोभ, मद, मात्सर्य, मोह जस्ता षट्विकारलाई परास्त गर्न, आत्मबल, नैतिकबल, धर्मको बलसहित सुस्वास्थ्यका साथै बाहुबल, धनबल, बुद्धिबल, जनबल प्राप्त गरी इच्छाशक्ति, क्रियाशक्ति, ज्ञानशक्तिले सम्पन्न हुन देवीको आराधना, उपासनाद्वारा सर्वकार्य सम्पन्न गर्न सकिने शास्त्रीय चाड दशैं हो ।

घटस्थापना, नवदुर्गा पूजा अर्चना, फूलपातीको विशेषता र जमरा र टीका दशैंका शास्त्रीय चिन्तनका प्रतीक मूर्त कर्मकाण्ड मानिन्छन् । जमरामा औषधीय गुणको प्रचुरता हुन्छ । रोगव्याध बिरूद्ध जमराको व्यवहारिक प्रयोग विज्ञबाट हुन्छ । दशैंमा जमरा उमारेको माटो र बाँकी रहेका जमराको उपयोग कृषकहरूले धानको विहाडमा धानको बिउसँगै मिसाउँछन् । यसरी धानको बिउको उपचारका साथै माटोको उपचार गर्ने पद्धति पनि अझै कताकति बाँकी छ । जमराको पूजा होस् वा जमरा लगाउने वा जमराको माला पहिरिने सबै कर्ममा प्रकृतिप्रतीको आराधनाका साथै प्रकृतिसँगको सामिप्यताको द्योतक हो । पानी भरिएको कलश अर्थात् घडा र त्यसप्रतीको विश्वास वा श्रद्धा भक्ति र अवस्थाले विकल्परहित अद्वितीय पदार्थ पानीको शक्तिलाई जीवन्त शक्तिका रूपमा ग्रहण गर्दै यही घडाको जलले अभिषेक गर्ने प्रचलन रह्यो ।

दशैं वैदिककालदेखि यसरी प्रचलित हुँदैआएको महान चाड हो । वैदिक दशैं, तान्त्रिक दशैं, लौकिक दशैं, रूढीगत रूपले कर, बल, छलले मानिने दशैं यो प्रसङ्गमा चर्चित छन् । ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद लगायत वेद स्वरूप ब्रह्माण्ड पुराण, मार्केण्डेय पुराण, शाक्तागममा उल्लेखित अनेक प्रकरणमा यसबारे विस्तृत चर्चा, चिन्तन र विवेचना छ ।

(प्रस्तत विचार लेखक पन्तको प्राच्यको एक सूत्र : दशैं पुस्तकबाट उद्धृत गरिएको हो ।)

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.