एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले चौथों जित निकालेको छ । मंगलबार भएको खेलमा बंगलादेशलाई एक सय ४९ रनले पराजित गर्दै दक्षिण अफ्रिकाले प्रतियोगितामा चौथों जित निकालेको हो ।
वानखडे रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाउँदै तीन सय ८२ रनको विशाल स्कोर बनाएको थियो । दक्षिण अफ्रिकाको लागि क्विन्टन डि ककले एक सय ७४ रनको शतकीय पारी खेले भने हेइन्रिक क्लासेनले ९० र कप्तान आइडेन माक्र्रमले ६० रनको योगदान गरेका थिए ।
त्यस्तै डेभिड मिलर ३४ रनमा अविजित रहे । बंगलादेशको लागि हसम महमुदले दुई विकेट लिए भने मेहिदी हसन मिराज, शकिब अल हसन र शोरिफुल इस्लामले समान १-१ विकेट लिए । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको तीन सय ८३ रनको विशाल लक्ष्य पछ्याएको बंगलादेश ४६.४ ओभरमा अल आउट हुँदा मात्र दुई सय ३३ रन बनाउन सक्यो ।
बंगलादेशको लागि महमुदिल्लाह एक सय ११ रनको शतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यसबाहेक कुनै पनि खेलाडीको उल्लेखनीय प्रदर्शन रहेन । दक्षिण अफ्रिकाको लागि जेराल्ड कोट्जेले तीन विकेट लिंदा मार्को जनसेन, लजाद विलियम्स र कागिसो रबडाले समान एक-एक विकेट लिएका थिए।
जितसँगै दक्षिण अफ्रिका पाँच खेलबाट ८ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ भने समान खेलमा दुई अंक जोडेको बंगलादेश पुछारमा रहेको छ ।
प्रतिक्रिया राख्नुहोस्