राजनीति

चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा आर्थिक असन्तुलन : नेता आचार्य

मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएपछिको पहिलो निर्वाचित सरकारका अर्थमन्त्री महेश आचार्यले चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा आर्थिक असन्तुलन बढेको बताउनुभएको छ ।

सोमबार चितवनमा पत्रकारहरुसँगको कुराकानीमा नेपाली कांग्रेसका नेता समेत रहनुभएका उहाँले देशको अर्थतन्त्रमा सुधार ल्यांदै सो धारणा राख्नुभएको हो ।

उहाँले अहिले देखिएको समस्या समाधानका लागि उद्योगी व्यवसायीलाई आत्मविश्वास हुनेगरी जागरुक गराउने खालको अभियान सञ्चालन गर्नुपर्ने पनि बताउनुभयो ।

आचार्यले भन्नुभयो, “जुन अभियानले लगानीका गन्तव्य नेपाल बनोस् । देशभित्रका उद्यमी र अन्तर्राष्ट्रिय लगानीकर्तालाई पनि नेपालमा लगानी गर्न सजिलो बनाउने गरी सरकारले नीति निर्माण गरोस्पू” ।

उहाँले “लगानीकर्तालाई लगानीका लागि हिन्दूस्तान, चीन, बङ्गलादेश र श्रीलङ्का जानुभन्दा नेपालमा सजिलो छ भन्ने वातावरण बनाइ लागनीको गन्तव्य बनाउन सिङ्गो देश लाग्नुपर्छ” भन्नुभयो ।

राजनीतिक स्थिरतासँगै जिम्मेवार सरकारले यसमा ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो “ मुलुकमा लगानी बढाउन र समुदायको आयआर्जनलाई फराकिलो बनाउन आवश्यक छ । जसले अर्थतन्त्रलाई चलायमान बनाउँछ ।”

निर्यात साँघुरो बन्दै गएको, आयातमा निर्भरता बढ्दै गएको र राजस्व परिचालन अपेक्षाअनुसार हुन नसक्दा खर्चको संरचना नियन्त्रण बाहिर जान खोजेजस्तो देखिएको उहाँको भनाइ थियो । चालु खर्च बढ्ने र विकास खर्च गर्न नसक्ने हुँदा असन्तुलन बढेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.