राजनीति

सदनका उठेका विषयमा सरकारको ध्यान जान जरुरी छ : प्रमुख सचेतक लेखक

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जनजीविकाका सवालमा संसद् प्रभावकारी हुनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, “संसद् प्रभावकारी भयो भने सरकार पनि प्रभावकारी हुन्छ । संसद् बलियो हुनुपर्छ । मूल विषय भनेको संसद्लाई बढी भन्दा बढी प्रभावकारी बनाएर जानुपर्छ ।”

प्रमुख सचेतक लेखक

उहाँले संसद्को मूल काम कानुन निर्माणका साथै सरकार निर्माण, राज्यका स्रोत र साधनको वितरण, सरकारका काम कारबाहीको नियमित अनुगमन र मूल्याङ्कन गर्ने हो भन्नुभयो । उहाँले भन्नुभयो “संसद्मार्फत सरकारलाई जनताप्रति उत्तरदायी बनाउने, संसद्ले बनाएका कानुनको कार्यान्वयनका अवस्थाबारे अध्ययन गर्ने अभ्यास पनि विश्वव्यापी रुपमा रहको छ ।”

संविधानले परिकल्पना गरेको बाटोमा कांग्रेस सधैँ प्रभावकारी संसद्को पक्षमा रहेको उहाँको भनाइ थियो । “संसद्का काम कारबाही जीवन्त रुपमा काम गर्नुपर्छ । संसद्लाई प्रभावकारी बनाउनका लागि संविधानको रक्षा गर्न प्रतिबद्ध छौँ,” प्रमुख सचेतक लेखकले भन्नुभयो, “लोकतन्त्रमा सहमति, सहकार्य र समन्वय गरेर अघि बढ्नु जरुरी छ । त्यसो भए मात्र संसद् प्रभावकारी हुन्छ ।”

संवाद, सहमति, सहकार्य संविधानको कार्यान्वयन र मुलुकको निर्माणका लागि जरुरी रहेको जनाउँदै उहाँले ७० वर्षको अन्तरालमा सातवटा संविधान बनाउने काम गरिएको र अब यो संविधान असफल बनाउने छुट कसैलाई पनि छैन भन्नुभयो । यो संविधान मुलुकमा ठूलो राजनीतिक अभियान, राजनीतिक यात्राबाट प्राप्त भएको उल्लेख गर्दै उहाँले संविधानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो । “सर्मथन र विरोध लोकतन्त्रको गहना हो । संसद्मा आलोचना र विरोध हुन्छ” उहाँले भन्नुभयो ।

प्रमुख सचेतक लेखकले इजरायलमा अध्ययन गर्न गएका १० जना नेपाली विद्यार्थीले हमासको आक्रमबाट अकालमा ज्यान गुमाउनुपरेको र धेरै घाइते भएको जनाउँदै घटनाप्रति दुःख व्यक्त गर्नुभयो । उहाँले हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई सहजतापूर्वक सकुसल घर फिर्ता गर्ने वातावरण सरकारले बनाउनुपर्ने बताउनुभयो । उहाँले सदनका उठेका सबै विषयमा सरकारको यथेष्ट ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.