जन सरोकार

खाडीबाट फर्किनुभएकी कौशिलाको सुझाव : “घरेलु कामदार बनेर खाडी नजानू”

सात समुन्द्र पारीको देश, मध्यरात र एक्लो कोठामा सुतिरहेको अवस्थामा कोही पुरुषले आफ्नो मुख थुन्छ । हातभरी कुवेती डलर बोकेको वयस्क पुरुषले भन्छ, ‘तलाईं चाहिएको जति दिन्छु मैले भनेको मान ।’

वैदेशिक रोजगारी

कौशिला विकले भएभरको बल लगाएर त्यसव्यक्तिसँग प्रतिकार गर्नुभयो । आफूलाई अँठ्याउन खोजेको पुरुषलाई भुइँमा पछार्नुभयो । हतारहतार कोठाको चुकुल लगाउनुभयो र आफूलाई बचाउनुभयो । त्यसपछि सुरु भए उहाँका थप कष्टका दिन । घरेलु कामदारका रुपमा कुवेत पुग्नुभएकी बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीकी २३ वर्षीया कौशिलाले व्यहोरेको व्यथा हो यो । आफन्तकै सल्लाहमा सरसफाइ मजदुर बनेर कुवेत पुग्नुभएकी उहाँ त्यहाँ पुग्दा घरेलु कामदार बन्नुभयो । कुवेत पुगेको दुई साता नबित्दै कौशिलामाथि हिंसाको प्रयास भयो ।

हिंसात्मक घटनामा प्रतिकार गरेकैले उहाँलाई २८ दिनमा तीन ठाउँमा काम फेरियो । जहाँ गए पनि कामको अवस्था भने उस्तै । नेपालमा हुँदा खाडी मुलुकमा महिलामाथि हुने हिंसाका घटनाका विषयमा धेरैथोरै समाचार सुनिरहनुभएकी कौशिलाले कुवेतमा बसेर घरको ऋण तिर्नभन्दा पनि स्वदेश नै फर्किने निर्णय लिनुभयो । “मेरै आँखा अगाडि एक एजेन्टले नौ सय कुवेती डलरमा एक नेपाली दिदीलाई कुवेतीको घरमा काम गर्न बेचे, अनि मेरो मन थामिएन”, कौशिलाले भन्नुभयो, “मैले नेपाल फर्किने बाटो खोजेँ ।” उहाँले नेपाल फर्किन खोजेको यहाँ रहेका एजेन्टले थाहा पाएपछि कौशिलाको मोबाइल खोसियो । बन्द कोठमा बिना काम राखेर मानसिक तनाव मात्रै दिने गरेको उहाँले सुनाउनुभयो ।

“नेपालमा क्लिनर हो भने, विमानस्थल पसेपछि बल्ल डकुमेन्ट दिए, दुईथरी डकुमेन्ट दिएका थिए, उता देखाउने र यता देखाउने दुईथरी भनेर, हामीलाई दिएको कागजमा कुवेतको भिजिट भनेर लेखिएको थियो”, कौशिलाले भन्नुभयो, “नेपालकै विमानस्थलमा दुईथरी डकुमेन्ट र भिजिट भनेर होटलसमेत बुक गरेको कागज देखेपछि नजाने भनेकी थिएँ तर विमानस्थलमै बसेका एजेन्टले फर्किन दिएनन्, कुवेत पुगेपछि कम्पनीको प्रतिनिधि आएर लिएर गयो । घरेलु काममा लगायो । केही दिन काम राम्रै थियो, ठाउँ फेरिदियो र हिंसाको प्रयास भयो ।”

कुवेतमै रहेकी एक नेपालीको मोबाइलको सहारामा माइती नेपाल र सुरक्षित आप्रवासन परियोजनामा सम्पर्क गर्नुभएकी उहाँले सबै कागज भने सुरक्षित राख्नुभएको थियो । बागलुङमा सञ्चालित सुरक्षित आप्रवासन कार्यक्रमले उहाँको सबै डकुमेन्ट मगायो । कौशिलाले समय समयमा लुकीलुकी डकुमेन्ट उपलब्ध गराउनुभयो । उक्त कार्यक्रमले विभिन्न अन्तर्राष्ट्रिय सङ्घसंस्थासँगको सहकार्यमा कौशिलासम्म पुगेर सकुशल उहाँलाई नेपाल ल्यायो ।

“मैले एजेन्टलाई कि मलाई नेपाल फर्काऊ होइन भने चार तलामाथि छु, हाम फालेर मर्छु, तँ पर्छस् भनेँ”, कौशिलाले भन्नुभयो, “मरे शव ल्याउन पहल गर्छु भनेर उसले जवाफ दियो ।” सुरक्षित आप्रवासन कार्यक्रमले दिनरात नभनी आफ्नो उद्धार गरेको उहाँले बताउनुभयो । “ कौशिला सचेत हुनुहुँदो रहेछ, हामीसँग समयमा सम्पर्कमा आउनुभयो र आवश्यक कागजात सबै उपलब्ध हुँदा उद्धारमा सहज भयो”, सुरक्षित आप्रवासन कार्यक्रमका परामर्शदाता गङ्गा रिजालले भन्नुभयो, “गाउँपालिकाकी कार्यपालिका सदस्य पूर्णमाया विकको सहयोगमा हामी उहाँसम्म पुग्यौँ, कौशिलाले रातभरि पनि म्यासेज गर्नुहुन्थ्यो, हामीले दिनरात नभनी उहाँको उद्धार ग-यौँ ।” वैदेशिक रोजगारीका विषयमा राम्रोसँग जानकारी नलिइ जाने र गइसकेपछि पनि फर्किन सक्ने बाटाको विषयमा जानकारी नहुँदा धेरै नेपाली कामदार श्रम शोषण र हिंसाको सिकार हुने गरेको कार्यक्रम संयोजक मीनप्रसाद उपाध्यायले बताउनुभयो ।

पासपोर्ट बनाउने बेला नै कौशिलाले कोरिया जाने भन्नुभएको थियो । आफन्तले कुवेतमा काम लगाइदिने भनेपछि काठमाडौँसम्म बसमा पासपोर्ट पठाएको बताउनुभएकी उहाँले मेडिकल जाँच गरेको दस दिनमै भिसा आएपछि विमानस्थल प्रवेश गरेपछिमात्रै आफू कुवेत जान लागेको थाहा पाएको बताउनुभयो । “मलाई आफन्तले नै फसाए”, कौशिलाले भन्नुभयो, “घरेलु कामदारका रुपमा कोही दिदीबहिनी पनि खाडी नजानु, त्यहाँ दिदीबहिनीको हालत खराब छ ।” कुवेत पुगेको २८ दिनका दिनपछि नेपाल फर्किनुभएकी कौशिला अब भने कोरियाको तयारी गर्ने बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.