गणतन्त्रमाथि प्रश्न कसका कारण उठ्यो ? अब विचार गरौं
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले गणतन्त्रमाथि उठिरहेका प्रश्नको प्रमुख कारण राजनीतिक दल र नेतृत्व नै रहेको बताउँदै यही पाराले गणतन्त्र कसरी अगाडि जान्छ भन्ने प्रश्न उठाउनुभएको छ ।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले कसरी जान्छ भन्ने कुराले आफूलाई चिन्ता नलागेको र अहिलेको अवस्थाको सुधारका लागि नेतृत्व लिन तयार रहेको र यसका लागि समय लाग्ने पनि बताउनुभयो ।
डा. कोइरालाले भन्नुभयो, “हामीले गणतन्त्रका लागि आन्दोलन गर्यौ, गणतन्त्र प्राप्त गर्यौ, के को लागि भन्ने कुरा बिर्सियौं जस्तो लाग्छ, भ्रष्टाचार गर्नलाई गणतन्त्र ल्याएको हो कि दण्डहीनतालाई बढाउन ल्याएको हो कि ?”
उहाँले थप भन्नुभयो, “यी कुराबाट जनता आजित भएका छन्, जनता निराश भएका छन्, गणतन्त्र आफैमा खराब होइन, राम्रो व्यवस्था हो, तर हाम्रो कारणले, राजनीतिक दलहरुका कारणले गर्दा गणतन्त्रमा प्रश्न चिन्न लागेको मात्रै हो ।”
डा. कोइरालाले सरकारले आफूलाई सुधार गर्दै जानुपर्ने बताउँदै सरकारले अराजक रुपमा प्रस्तुत भएका कारण मानिस निराश भएको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो “मिडियाले सरकारको विरोध गरेन भने सरकार कसरी अघि बढ्छ, सरकारले आफूलाई सुधार गर्दै जानुपर्छ । सरकार अराजक भएर बोल्दै जानु हुँदैन ।”
उहाँले टिकटकमाथि सरकारले प्रतिबन्ध लगाएर गलत गरेको बताउँदै भन्नुभयो, “म बन्द गर्नुपर्छ भन्ने पक्षको मानिस होइन । नियमन गर्नुपर्छ, नियमन गर्ने उपाय छन्, नियमन नगर्ने हठातमा टिकटक बन्द गर्ने गैरजिम्मेवार कुरा हो ।”
प्रतिक्रिया राख्नुहोस्