राजनीति

गरिबी घट्दा दिगो विकास लक्ष्य हासिल हुने : अध्यक्ष तिमिल्सिना

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड कोअपरेसन फर डेभलपमेण्ट इन साउथ एसिया’ले बुधबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले विद्यमान गरिबी घटाउनसकेमा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताउनुभयो ।

एक असल छिमेकीका रुपमा आफ्ना सफल अभ्यासलाई नेपालजलगायत दक्षिण एसियाली मुलुकमा प्रयोग गर्न प्रोत्साहन गर्ने चीन सरकारको अग्रसरताको अध्यक्ष तिमिल्सिानाले प्रशंसा गर्नुभयो । उहाँले यसबाट दक्षिण एसियाली मुलुकको आर्थिक विकास र जनताको जीवनयापनमा सुधार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाललगायत दक्षिण एसियाली मुलुकले चीनका सफल अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसात गरेर अगाडि बढ्न सके गरिबी निवारणमा महत्वपूर्ण सफलता प्राप्त गर्न सकिने अध्यक्ष तिमिल्सिनाले बताउनुभयो ।

“बिआरआइको कार्यान्वयनमा कमीकमजोरी देखिए सच्च्याउने, विभिन्न देशका आफ्नै परिस्थिति अनुकूल हुने गरी सञ्चालन गर्न र ती देशका जनताले अधिकतम लाभ लिन सक्ने गरी परियोजना अगाडि बढाउन जरुरी छ”, उहाँले भन्नुभयो, “गरिबी न्यूनीकरण तथा विकास साझेदारीका लागि यो परियोजना महत्वपूर्ण कडीको रुपमा रहनेछ ।”

‘चीन–दक्षिण एशिया गरिबी न्यूनीकरण तथा विकास सहयोग मञ्च’ विषयक कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत छन सङले चीनले आफ्नो आधुनिकीकरणको विश्वव्यापी महत्वका साथ गरिबी निवारणसम्बन्धी अन्तर्राष्ट्रिय सहयोगलाई सक्रियतापूर्वक सञ्चालन गरिरहेको बताउनुभयो ।

चीन–नेपाल सम्बन्धका विविध आयामबारे चर्चा गर्दै चिनियाँ राजदूतले प्रधानमन्त्री पुष्पकमल ‘प्रचण्ड’को चीन भ्रमणको क्रममा दुई देशबीच गरिबी घटाउन सहयोग आदानप्रदान र जनताको जीविकोपार्जनमा सुधार गर्न तथा ग्रामीण क्षेत्रको पुनरुत्थानमा ध्यान केन्द्रित गर्न सहमति भएको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.