‘अल्लो’बाट वार्षिक तीन लाखसम्म कमाउँदै ताप्लेजुङका महिला
ताप्लेजुङको ग्रामीण क्षेत्रमा ठूलो, लेकाली र भाङ्ग्रे सिस्नो तथा पुवाजातका नामले चिनिने अल्लो ग्रामीण क्षेत्रका महिलाको आम्दानीको स्रोत बन्दै गएको छ ।
ताप्लेजुङका महिलाले अल्लो प्रशोधन गरेर विभिन्न कपडालगायत सामग्री उत्पादन गरेर मनग्य आम्दानी गर्दै आएका छन् । मैवाखोला गाउँपालिका–६ फागुम्बाका लाप्साङ शेर्पाले विगत १० वर्षदेखि अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्दै आउनुभएको छ ।
पोपेबुङ अल्लो प्रशोधन तथा कपडा उद्योग दर्ता गरेर घरबाटै उद्योग सञ्चालन गर्दै आएको शेर्पाले बताउनुभयो । उहाँका अनुसार उद्योग सञ्चालन गर्नका लागि परिवारका तीन जना परिचालन हुँदै आएका छन् ।
शेर्पाले भन्नुभयो, “खर्च कटाएर वर्षको रु दुईदेखि तीन लाखसम्म कमाउँदै आएको छु ।” उहाँका अनुसार मासिक रु २५ देखि ३० हजारसम्म आम्दानी हुन्छ । यहाँ उत्पादित अल्लोको कपडा गाउँमै खपत हँुदै आएका शेर्पाको भनाइ थियो । उहाँले सरकारी कार्यालयमासमेत बिक्री हुने गरेको बताउनुभयो ।
फुङ्लिङ नगरपालिका–१० का आशा लिम्बू विगत १५ वर्षदेखि अल्लो प्रशोधन तथा धागो उत्पादन र कपडा बुनाईलाई मुख्य पेशाकारूपमा अङ्गाल्दै आउनुभएको छ ।
उहाँले उत्पादन गरेको कपडा बिक्री गर्नका लागि ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा अल्लोको कपडा बिक्री केन्द्रसमेत स्थापना गर्नुभएको छ । केन्द्रमा उहाँले कपडालगायत अल्लोका सामग्री बिक्री गर्दै आउनुभएको छ । लिम्बू ताप्लेजुङको अल्लो कपडा प्रशोधन तथा कपडा बुनाईका लागि प्रशिक्षकसमेत हुन् ।
हिमाली संरक्षण मञ्च ताप्लेजुङको आयोजना, फुङ्लिङ नगरपालिका–१० वडाको समन्वय तथा रेडपाण्ड नेटवक, फुङ्लिङ नगरपालिका र घरेलु तथा साना उद्योग ताप्लेजुङको आर्थिक सहयोगमा दुईमहिने अल्लो प्रशोधन तथा कपडा उत्पादन तालिमको प्रशिक्षकका रूपमा अहिले लिम्बूले काम गर्दै आउनुभएको छ । फुङ्लिङ–१० फुरुम्बु गाउँका महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको मञ्चले जनाएको छ ।
तालिमका लागि रुपा लिङ्देन काखमा सानो नानी बोकेर आउँदै हुनुहुन्छ । उहाँ जस्तै चन्द्रकुमारी केदेम पनि सानो नानीसँगै तालीममा सहभागी भएर कपडा बुन्न सिक्दै हुनुहुन्छ । केदमले भन्नुभयो, “आफ्नो गोजीमा पैसा भएको र अरुको गोजीमा पैसा भएको नमिल्दो रहेछ । त्यसैले आफ्नै गोजीमा पैसा ल्याउनका लागि सीप सिक्न थालेको छु ।”
केदेम र लिङ्देनसहित १७ जना महिला एक महिनादेखि आम्दानीको स्रोत बढाउन तालिम लिँदै आएका छन् । तालिम थप एक महिनासम्म सञ्चालन हुनेछ । सीप सिकेर आफैँ उद्यमी बन्ने योजना रहेको मिलन लिम्बूले बताउनुभयो ।
उहाँहरूलाई तालिम पछि व्यावसायिक बनाउनका लागि नगरपालिकाले सहयोग गर्ने उपप्रमुख भीमा देवी ओझाले बताउनुभयो । अल्लोको उत्पादनलाई व्यावसायिक बनाउन सके ताप्लेजुङको मौलिक उत्पादनका रूपमा विश्वभर पठाउन सकिने उहाँको भनाइ थियो ।
भाङ््ग्रा, कोटलगायत सामग्री बनाउन मात्र प्रयोग गरिने अल्लोबाट हिजोआज झोला, गलबन्दी, जुत्ताचप्पल, कोटपाइन्ट, जुहारी कोटलगायत सामान बन्ने गरेका छन् ।
अल्लोको माग राम्रंो रहे पनि मागअनुसार उत्पादन हुन सकेको छैन । अल्लोको प्रचुर सम्भावना भएकाले उद्योग स्थापना आवश्यक रहेको जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका निमित्त प्रमुख युवराज घोरासाइनेले बताउनुभयो । उहाँले जिल्लामा अल्लो उद्यमीले राम्रो आयआर्जन गर्दै आएका बताउनुभयो ।
पछिल्लो समय स्थानीयस्तरबाटै अल्लोको क्षेत्रमा काम गर्ने प्रस्ताव आउन थालेको उद्योग कार्यालयले जनाएको छ । अल्लोबाट उत्पादन हुने कपडा विदेशीले पनि मन पराएकाले विदेशसमेत निर्यात हुने गरेको घोरासाइनेले बताउनुभयो ।
अल्लोका सामान स्वदेशमै धेरै खपत हुने उद्यमीको भनाइ छ । जाडोयाममा न्यानो र गर्मीमा चिसो हुने कपडाको माग बढ्दो छ ।
गाउँघरमा खेर गएको अल्लोलाई प्रशोधन गरी उद्योग सञ्चालन गर्नसके यसको प्रवद्र्धन भई रोजगारीको अवसर सिर्जना हुने मञ्चका कार्यक्रम संयोजक रमेश राईले बताउनुभयो ।
उहाँका अनुसार व्यावसायिकरूपमा अल्लोको कपडा उत्पादन गर्नका लागि कच्चापदार्थको आवश्यक पर्दछ ।
वनजङ्गलमा पाइने अल्लोलाई संरक्षण गर्दै व्यावसायिकरूपमा यसको खेती गर्न उद्यमीलाई आवश्यक तालिम तथा प्राविधिक सहयोग गर्ने मञ्चको योजना छ ।
प्रतिक्रिया राख्नुहोस्