अहिले केवल ‘रत्यौलीवाद’ मच्चिएको छ
अहिले नेपालमा कुनै वादसँग नमिल्ने ‘रत्यौलीवाद’ मच्चिरहेको छ । यसलाई नै भाँडभैलो तन्त्र भनेर भन्न र मान्न सकिन्छ । न यहाँ अब्राहम लिङ्कनका मूर्ति पूजकहरुले उनले दिएको नीति, निर्देशन र उनको सिध्दान्तको वास्ता गरेका छन् । न त माओका नामजपुवाहरुले “जनता (खास गरी ग्रामीण किसान) सँग सियो पनि नलिई नमागी अघि बढ्नुपर्छ” भनेको मानेका छन् ।
न त हिजो चिनीया सुधारवादी नेता दङ सियाओ फीङले “हाम्रो महान् नेता अध्यक्ष माओ त्से तुङ्ले भन्ने गर्नुभएको, जनताले सधैँ परिवर्तन चाहन्छन्, राज्य (राष्ट्र) सधैँ स्वाधीन हुन रहन चाहन्छ । सरकार सधैँ स्थीरता (स्थायित्व) चाहन्छ, बुध्दिमान हाम्रा घनिष्ट नेपालका जनता सरकार (संकेत राजालाई पनि हो) राम्ररी मनन गरेर बढ्ने आशा र विश्वास छ भनेर २०३४ साल तिर उप प्र.म को हैसियतले नेपालको औपचारिक भ्रमणमा आएको बेला काठमाण्डौको खुलामञ्चमा नागरिक अभिनन्दनको प्रत्युत्तर भाषण दिँदै गर्दा भनेको कुरा त्यस बखतका सर्वाधिकारवादी नेता (राजा)ले नसुन्दा/नबुझ्दा राजाले आफैँसँग राजतन्त्रलाई समेत डाँडा कटाएको इतिहासनै त्यस बखत सायद नजन्मिएकाविचरा ववुरा (आजका शासन सत्तामा स्थापित गरिएकाहरु)ले नसुने नबुझेको जस्तो लाग्छ ।
त्यतिमात्र होइन । उदेकलाग्दो भन्ने हो कि कही नभए नसुने नदेखेको जात्रा हाँडी गाउँमा ! माओवादको माला भिरेर (माओवादीको नाम बेचेर) देशको शासन सत्ताको शिखर चढेका र उनको पछि लाग्दै हिडेका गैर कम्युनिष्ट हौ भन्नेहरु समेतले के देख्नु भोग्नु परिराख्यो वा भोग्दैछन् भने दङ सियाओ फेङ मार्फत सुने सुनाइएको माओको सन्देश (जुन सधै परिवर्तन चाहने भनिएका जनता) विनाको देशको स्थीरता चाहिरहेका छन् ।
तर जतिसुकै कठोर (कठिन) स्थितिमा अवहनीय करको भारी बोक्नु पर्दा पनि विना “आहभर्दै” सकी नसकी मौन छन् । तर, सरकार सधैँ आफैँले जनतालाई जसरी पनि टुप्पी वा चुल्ठो समाएर सडकमा उतार्दै र घिसार्दै गरेको छ, “जुनून” बनाउँदै छ । स्वतन्त्रता, स्वाधीनताको पक्षधर हुनुपर्ने देखिने प्रारम्भदेखी आफै स्वतन्त्र भए रहेको देशलाई विदेशी होइन स्वयं आफ्नै देशका अधिशासकहरुले, बाह्य शक्तिको दरवारको ढोके (द्वारपाल र दरवान)को रुपमा सुम्पिँदै पराधीन बनाइरहेको भोग्नु देख्नु परिरहेछ ।
यसरी माओवादीले माओको विचार, दर्शन, मान्यता विपरीत शासन सत्ता नियन्ता बनेपछि देशलाई उल्टो पाइला चाल्दै हिँड्ने हिँडाउने गर्यो । यस्तो शासनलाई “गणतन्त्र जनतन्त्र लोकतन्त्र” उन्मुख भन्ने मान्ने कि “भाँडतन्त्रवादको पीठ पूजक ठान्ने ? त्यससँगै वर्तमान कालखण्डका शासकहरुले आफूलाई इमान्दार सावीत गर्न “चोरले नै चोर समात समात भन्दै दौडिन्छ र सबैलाई झुक्याएर ऊ चम्पत हुन्छ” भने जस्तै देख्नु परिरहेछ । त्यसलाई गणतन्त्र र उपलब्धी उल्ट्याई हिजोकै जस्तो प्रतिगमन तिर लैजादै छन् भनेर स्थापित (रैथाने) दलका नेताहरुका स्याल हुइयाँ ले स्पष्ट गर्छ भन्ने लाग्छ ।
त्यसो त प्राय शासन सत्ताका आसनमा बसेपछि जनताले कतै कुनै विरोधको ठूलो सानो आवाजतिर ध्यान दिन थालेको सत्ता नियन्तालाई पत्ता लाग्यो कि यस्तै समय अनुसार “आफ्नो मुलुक, सत्ता, राष्ट्रियता, सुरक्षा माथि कालो बादल मडारिइ रहेको छिमेकी वा विदेशी शक्ति लाग्दै गरेको” कोहलो मच्चाउदै गर्छन् भने सरकार भने आन्तरिक सबै भतान्तरहरु र विरोधको विषय थाँती राखेर बाहीरी भित्री त्यस्ता शसक्त र अवाञ्छित तत्व विरुध्द एकताबध्द भई सामना गर्नुपर्छ । सरकारलाई साथ सहयोग चाहिएको छ भन्छन् । हिजो इन्दिरा गान्धी देखी सूर्यबहादुर थापा मरिचमान सम्म जे भन्थे । आजका “सत्ता हत्याएर देश लुट्दै गरेका” भनेर आम संचारदेखी आम नागरिकसम्मले भनीरहेका सरकारका सरदार त्यहीँ भनिरहेको सुनिन्छ ।
कारक को ?
आजको यस्तो स्थिति कहाँबाट कसरी आयो, कस्ले ल्यायो ? देश उहिलेको शासन व्यवस्थामा जे जस्तो अवस्थाबाट जसरी गुज्रिरहेको थियो, त्यसबेला पनि यिनै कुरा (देशमा महँगी बढेको आदि कुरा बोक्ने सत्ता सन्निकटस्थहरुले मात्र नभई उनका निकस्थ (आसो÷पासो चाटुकार) आफ्ना नातागोताहरु) ले समेत यस्तै कुरा गर्दै सधैँ देश र जनतालाई लुटिरहे । आम नागरिकको अवस्था भने दिन प्रति दिन उभो लाग्ला भन्नुको साटो उँधो लाग्दै गएको, कहर थपिँदै सामान्य नागरिकले कष्टकर जीवन गुजार्नु परेको थियो । फेरी यस्तै मुद्दा बोकाए परिवर्तनका लागि बलिदान गर , भनियो !
“तर परिवर्तनका लागि बलिदानीपूर्ण संघर्ष गर्नुपर्छ” भनेर विपन्न भुईमान्छे र सोझा सीधा आम मान्छेलाई सडकमा ओराल्नेहरुले आफ्ना छोरा, छोरी र नाती नातिनाहरुलाई भने छिमेक देखी विदेशका महँगा स्कुल कलेजसम्म पठाएर उपाधी धारी वा उच्च प्राविधिक (विज्ञा)बनाए । परिणाम कामदारका सन्तान ज्यामी मजदूर र कामदारै रहे ! अगुवा (नेता) का शाखा सन्तानहरु कोही चिकित्सक कोही इन्जिनियर, प्रोफेसर भए । जसको परिणाम “हुनेखाने र हुँदा खानेका बीचको घर्ती फाटो पाटिएला भेटिएला भनेर बलिदान गर्न उक्साउनेहरु नवसामन्त बने । शासकको रुप फेरियो । तर जति संघर्ष र परिवर्तन भए गराएपनि अथवा अर्को शैलीमा भन्नुपर्दा शासन व्यवस्था र शासक पात्र फेरिए पनि आम नागरिकको आर्थिक, सामाजिक, शैक्षिक अवस्था यथावत् नै रह्यो ।
शासन व्यवस्थाको यही र यस्तै कमी कमजोरीको कापबाट माओवादी उग्र क्रान्तिकारी जनविद्रोही जन्मिए । उनीहरुको “परम्परागत, सामन्तवाद शोषण उत्पीडन र दमनकारी सोच संस्कारको मात्र होइन । उसका जराका रुपमा फैलिएको भ्रष्टाचार, अनियमीतता, ढीला सुस्ती, नातावाद कृपावाद र उही “वो कल्ल भी करे तो कुछ नहीँ हम नेआह भी भरे तो वडी गुनाह की भन्ने चरितार्थ गर्ने विरुध्द अन्तिम लडाई गर्ने आहवान गरियो । हजारै बूढाबूढीका सहार गुमे । हजारौँ अबोध बालबालिका र उनका बैँसालु आमाको सिन्दुर पखालियो ।
जनविद्रोहको शंखनाद गर्दै आएकाहरु विजयी भए । परम्परागत (२४०–वर्ष देखीको) शाही राजतन्त्रलाई ‘अलविदा’ गरियो । “जन प्रतिरोधका गौरवशाली चार सय दिनहरु”मा संकलित जनप्रतिरोधकालका माओवादी सुप्रिमोद्वारा सार्वजनिक “प्रेस वक्तव्यहरु र “संयुक्त क्रान्तिकारी, जनपरिषद नेपालका संयोजकका नाम बाट जारी गरिको १२ बुँदे (१६ फागुन २०५८) घोषणा पत्रमा जाहेर गरिएका कुरा निर्वाध पूरा गर्ने अवसर २०६३ को शान्ति संझौताले जनप्रतिरोधी माओवादी सुप्रिमोलाई प्राप्त भयो । १५–२० हजार युवाहरुको वलिदानले ल्याएको परिवर्तनसँगै जनविद्रोहका सुप्रिमो नेपालको शासन सत्ताका पनि सुप्रिमो बने !
तर झण्डै जनविद्रोहको भन्दा दोब्बर अवधि(दुई दशक सम्म) पटक पटक देशको वागडोर आफ्नो हातमा लिएका ती (सशस्त्र जन विद्रोहीका सुप्रिमोलाई) अब आम नेपाली समक्ष हिजोका विद्रोह कालका वाचा (प्रतिवध्दता) के कति भए– गरिए बाँकी किन पूरा गरिएनन् , त्यसको जिम्मेदारी कस्को, अब आम जनतालेको सँग यी प्रश्नहरु राख्ने ? या त “हिजो जनविद्रोहकालमा हामीले असंभव कुराको आश्वासन बाँडेर जनतालाई विश्वासघात गरेकै छौ, देशको परिस्थिति , साधनाश्रोत, परिवेश को हेक्का र कुनै योजना विना हिजोको शासन व्यवस्था फाल्ने हतारो गर्यौँ त्यही नै त्रुटीपूर्ण थियो भनेर आम नेपाली सामु सार्वजनिक रुपमा क्षमा माग्दै प्रेस सम्मेलन मार्फत वक्तव्य जारी गर्नुपथ्र्यो । या त आफ्ना वाचा पूरा गरेको हुनुपथ्र्यो ।
गएको जेठको तेस्रो साता दक्षिणी छिमेकी राष्ट्रको भ्रमण गरी फर्केपछि जसरी “नेपालको प्रधानमन्त्री हुन, दिल्ली दरवार धाउनुपर्ने र उसको कृपा बिना यो देशको शासन सत्ता नियन्ता बन्न नसक्ने, बनेपनि टिक्न नसक्ने” भनेर स्वयं प्र.मंबाट सरदार प्रितम सिंहबाट आयोजित पुस्तक विमोचन कार्यक्रममा अभिव्यक्त सत्यले नै नेपालको शासन प्रशासनको नग्न तस्वीर उतारी दिएको थियो । त्यत्रो “विस्तारवादी, नवउपनिवेशवादी छिमेकीको विरुध्द उग्रराष्ट्रवाद र सन् १९५० को सन्धी तुरुन्त खारेज गर्नुपर्छ” भन्नेहरुलाई उहिले (पञ्चायती व्यवस्था) का प्र.म मरीचमान सिंह श्रेष्ठका शब्द सापटी लिएर भन्ने हो भने– भेडाको छाला ओडेका व्वाँसा सावीत गरिदिएको सत्यलाई अवथप साक्षले पुस्टि गर्नु परोइन ।
हुनपनि पहिलो दलको भन्दा झण्डै एकतिहाई र दोस्रो ठूलो दल भन्दा आधाभन्दा पनि कम प्रतिनिधि सभासदस्य (सांसद) भएको तेस्रो दललाई नेपालका जनताको नभई छिमेकीकै आडवलमा दिल्लीले नै नेपालको शासन सत्ता सुम्पिएको भन्नेमा शंका भएन, छैन । जोजसको आडवल र बलवुतामा नेपाल राज्यको संवैधानिक वारेस भए, बनेर शासन सत्ता इमान्दारी र वफादारी पूर्वक सँमाल्ने वाचाकसम खाएपछि नेपालको विधि, पध्दति र कानूनको सामान्य परिपालना गरेको सम्म देखाउनु पथ्र्यो ।
तर अब त “हिजो आफू र आफ्नो पार्टी शासन सत्तामा हुँदा धमिजा, लाउडा, न्यारो वडी वाइडवडी देखी कोभिडकालका ओम्नी, हिमालय एयर, नेपाल ट्रस्टको जग्गा हिनामिना गरी गराई बीसौँ तीसौँ पचासौँ अर्ब कुम्याएको भन्ने जस्ता आक्षेप र आरोपका भारी बोकेर भ्रष्टाचारका दुर्गन्धी बाग्मतीमा बगेकाहरुले समेत “आजको सरकारका पिएम्सम्मलाई “भ्रष्टाचारी, नालायक, असक्षम मात्र नभई शासन सत्ता नियन्ता “श्री ५” मध्येका केही नेताको नामै लिएर गद्दार, देशद्रोही भन्दै कोही प्रदेश देखी जिल्ला तहसम्म र केही महाकालीदेखी मेचीसम्म कोहलो मच्चाउँदै हिँडेको सुनियो ।
त्यस्तै हिजो संवैधानिक निकाय हाँकेका देखी जनविद्रोहकालमा विद्रोहीलाई निकै (बौध्दिक, आर्थिक अन्यभौतिक सहयोग र साथ दिएका अझै पनि माओवादी दलकै निकटस्थ मानिएका मित्रहरु सम्मलेपनि देशमा लोकतन्त्रको नाममा लूटतन्त्र मच्चिएको, संघीयताको आडवलमा संघाधिपत्यवादी (सिण्डिकेटिजम) को क्षेप्यास्त्रबाट सरकारका निर्णय उल्ट्याउने पल्टाउने र नङ्ग्याउने गरेका (जाजरकोट रुकुमतिरका भुकम्प पीडितहरुको व्यवस्थापनका लागि प्रत्येक सांसदलाई ५/५ करोडका दरले बाढ्न छुट्याइएको आठ अर्ब चानचुनको रकम हामीलाई नै दिनुस् भनेर त्यता नपठाउन सबै सांसदका प्रतिनिधिले प्र.म.लाई दवाव र धम्की दिएको) स्थिति एकातिर टड्कारो देखिएको छ । अर्कोतर्फ दैनिक रुपमा देशका उत्पादन र शक्तिका आधार युवाहरु दुई तीन हजारका दरले रोजगारीका लागि बाहिरिएको छ ।
सरकारले वर्षेनी अर्बौ बढाउँदै बजेटको ठूलो हिस्सा (खर्बौ) शिक्षा क्षेत्रमा खर्चेको सुनिन्छ । नेपालमा शिक्षा लिएर रोजगारीका लागि विदेश जानुको विकल्प नै नभएको कारण प्रतिभाशाली विद्यार्थीहरुलाई उच्च शिक्षा हासिल गर्ने पनि अर्बौ मात्र नभई झण्डै खर्व चान चुन (सरकारले नै) देशिक मुद्रा खर्चेको छ । देशको रकम बाहिरिएको छ । तर त्यसरी “उच्च शिक्षा हासील गर्ने” जाने कति भए ती कति फर्के, कतिले उतै बस्ने चाँजो पाँजो मिलाएका छन् , मिलाउँदै छन् , मिलाउने अन्तर्निहीत सोच लिएर बाहिरिँदै छन् ? त्यो सबै कुराको सरकारसँग नतथ्यांक छ, न त सरकारलाई त्यसको चासो र चिन्ता छ ।
देशको कर्मचारी तन्त्रको अस्तित्व इज्जत, प्रतिष्ठा शून्यमा झारिँदै छ । त्यसैले उस्का मनोवल, नैतिकता, इमान्दारिता कर्तव्यबोध र अनुशासन परायणताको धरातल, देशको अर्थतन्त्र, आमजनताको जीवन आधार र जीवन स्तर नैतिकता, इमान्दारिता, जवाफ देहिता संगै तिव्र गतिमा पातालतिर गएको सुनिन्छ । साँच्चिकै उध्र्नगति लिएको केही छ भने महँगी, अभाव, परनिर्भरता बाह्य हस्तक्षेप, आतंक बाह्य क्षेत्र (मुलुक) बाट हुने आव्रजन् , हत्याहिंसा चोरी ठगीले छ । डकैती आम नागरिकले नभई जनप्रतिनिधिका विल्लाघारी स्थानीय तहदेखी केन्द्रीय निकाय सम्मका चालीसौँ हजारबाटमात्र खुला रुपमा भईरहेछ ।
त्यसैले सावीकका डाँकाबाट हुने डकैती भने शून्य वा नगण्य छ भन्ने सुनिन्छ । वाल बलात्कार, वेश्यावृत्ति, ठगी, मानव तस्करी आदि अवाञ्छित तत्वका कृयाकलापले पनि तिव्र गतिमा उकालो लिएको छ । यस्तो स्थितिमा पनि यही र यस्तै सरकारबाट , नेपाली जनताको भलो होला ? यस्तै भाँण तन्त्रले देश चल्छ, चल्ला ?
मंसिर १९, २०८० को युगसम्वाद साप्ताहिकबाट
प्रतिक्रिया राख्नुहोस्