क्रिकेटखेल

प्रो क्लब क्रिकेट टि–ट्वान्टी च्याम्पियनसीपको उपाधि पुलिसलाई

पर्साको वीरगञ्जमा जारी दोस्रो संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । वीरगञ्जस्थित नारायणी रङ्गशालामा शनिबार भएको फाइनल खेलमा पर्सा ११ लाई ९९ रनको फराकिलो अन्तरले स्तब्ध पार्दै पुलिस क्लबले उपाधि चुमेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ४५ रनको योगफल जोडेको थियो । पुलिसका लागि करण केसीले अविजित ४० रन, अर्जुन साउद २६ रन, शङ्कर राणाले १९ रन, दिलीप नाथले १७ रन र कप्तान आरिफ शेखले १६ रनको योगदान दिनुभयो ।

पर्सा ११ का सैफुल्ला अन्सारी र पवन सर्राफले समान दुई/दुई विकेट र रुपेश सिंह र रञ्जित कुमारले समान एक/एक विकेट लिनुभयो । प्रतिउत्तरमा एक सय ४६ रनको विजयी लक्ष्य लिई मैदानमा उत्रेको पर्सा ११ ले ११ ओभरमा सम्पूर्ण विकेट गुमाएर ४५ रन मात्र बनाउन सक्यो ।

पर्सा ११ का अनिल साहले १३ रन बनाउनु बाहेक कुनै पनि खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । पुलिसका सागर ढकालले चार विकेट, ललित राजबंशी र रसिद खानले समान दुई/दुई विकेट तथा शेर मल्ल र करण केसीले समान एक/एक विकेट हात पार्नुभयो । फाइनल प्रतियोगिताको म्यान अफद म्याच पुलिसका करण केसी घोषित भएको छ । प्रतियोगिताको उपाधिसँगै पुलिस क्लबले रु पाँच नगद तथा कप हात पारेको छ भने उपविजेता पर्सा ११ ले रु तीन लाख नगद तथा कपमा चित बुझाएको छ । प्रतियोगितापश्चात आयोजित समापन तथा पुरस्कार वितरण कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंहले पुरस्कार प्रदान गर्नुभयो ।

यस्तै प्रतियोगितामा नोपल आर्मी क्लबले तेस्रो स्थान हासिल गरेको छ । तेस्रो स्थानका लागि शनिबार बिहान भएको प्रतियोगितामा भारतको वान्डर्स क्लब नोइडालाई छ विकेटले पराजित गर्दै आर्मीले तेस्रो स्थान प्राप्त गरेको हो । मौसम खराबका कारण सात ओभरमा खेलाइएको प्रतियोगितामा टस जितेर पहिला ब्याटिङ गरेको नोइडा क्लबले तीन विकेट गुमाएर ७४ रनको योगफल जोडेको थियो । प्रतिउत्तरमा आर्मीले ६ दशमलव ३ ओभरमा चार विकेट गुमाएर लक्ष्य भेटाएको थियो ।

नारायणी रङ्गशाला पुनःनिर्माणतर्फ तीनै तहको सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट सङ्घ र जोहरा इन्टरनेशनलको संयुक्त आयोजनामा गत पुस ५ गतेदेखि सञ्चालित प्रतियोगितामा पर्सा–११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र यूपी–११ गरी ६ टिमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.