जापान

जापान भूकम्प अपडेट : मृतकको संख्या २४ पुग्यो, उद्धार कार्य जारी

नयाँ वर्ष मनाइरहँदा जापानमा जनवरी १ का दिन सोमबार दिउँसो इशिकावा प्रान्तको नोटो प्रायद्वीपमा गएको ७.६ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण २४ जनाको मृत्यु भएको छ ।

इशिखावा प्रिफेक्चरका घरहरूमा अहिले पनि आगो लागिरहेको र उद्धार कार्य चलिरहेकाले क्षतिको यकिन विवरण आई नसकेको पनि अधिकारीहरूले जनाएका छन् ।

उद्धार कार्य चलिरहेकाले क्षतिको पूर्ण विवरण आउन नसकेको बताइएको छ । भूकम्प र सुनामीका कारणले घाइते भएकाहरूको उपचार भइरहेको भए पनि घाइतेहरू संख्या अहिले सम्म यकिन गर्न सकिएको छैन । त्यस्तै इशिखावा प्रिफेक्चरमा भत्किएका घरहरूमा केही व्यक्तिहरू पुरिएको हुनसक्ने समेत उद्धारकर्ताहरूले जनाएको जापानको सरकारी सञ्चार संस्था एनएचकेले जनाएको छ ।

जापान मौसम विज्ञान एजेन्सीले भूकम्पका कारण आउनसक्ने सुनमीको चेतावनी मंगलबार विहान हटाएको छ । सोमबार दिउँसो भूकम्प लगत्तै सुनामी आउने चेतावनी जारी गरिएको थियो । इशिखावा प्रिफेक्चरमा आज बिहान पनि ५.६ म्याग्नेच्युटको अर्को भूकम्प गएको थियो ।

जेएमएका अनुसार जापानको मुख्य टापु होन्शुको सागरमा रहेको नोटो क्षेत्रमा स्थानीय समयअनुसार अपराह्न ४ बजेर ६ मिनेटमा ५.७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसपछि अपराह्न ४ः१० मा ७.६ म्याग्निच्युड, ४ः१८ मा ६.१ म्याग्निच्युड, ४ः२३ मा ४.५ म्याग्निच्युड, ४ः२९ मिनेटमा ४.६ म्याग्निच्युड र ४ः३२ मिनेटमा ४.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

त्यसको केही समयपछि ६.२ म्याग्निच्युडको अर्को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्पको सबैभन्दा ठूलो धक्कापछि जापानी सञ्चारमाध्यमले विशेष प्रसारण गरी प्रभावित क्षेत्रका बासिन्दाहरूलाई उच्च भूमिमा जान तत्काल आग्रह गरेका हुन् ।

जापानमा भवनहरूले शक्तिशाली भूकम्प सहन सकून् भन्ने उद्देश्यले कडा निर्माण नियमहरू छन् र ठूलो झट्काको लागि तयारी गर्न नियमित रूपमा आपतकालीन अभ्यासहरू हुने गर्छन् ।

तर सन् २०११ को मार्चमा उत्तरपूर्वी जापानमा गएको ९.० म्याग्निच्यूडको भूकम्पका कारण आएको सुनामीका कारण करिब १८ हजार ५०० जनाको मृत्यु भएको थियो । सन् २०११ को सुनामीले फुकुशिमा आणविक केन्द्रमा तीनवटा रिएक्टरहरू पनि ध्वस्त पारेको थियो, जसले गर्दा जापानको युद्धपछिको सबैभन्दा खराब विपत्ति र चेर्नोबिलपछिको सबैभन्दा गम्भीर आणविक दुर्घटना भएको थियो ।

सन् २०२२ को मार्चमा फुकुशिमाको तटीय क्षेत्रमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पले पूर्वी जापानको ठूलो क्षेत्रमा धक्का महशुस गरिएको थियो ।

राजधानी टोकियोलाई एक शताब्दीअघि सन् १९२३ मा आएको विनाशकारी भूकम्पले तहसनहस बनाएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.