विश्व समाचार

दक्षिण कोरियाली विपक्षी नेता ली जे म्युङमाथि छुरा प्रहार

दक्षिण कोरियाका विपक्षी नेता ली जे म्युङमाथि मङ्गलबार छुरा प्रहार भएको छ । आफ्नो समर्थक भएको बहाना गर्दै भीडमा धकेल्ने एक व्यक्तिले उहाँको घाँटीमा छुरा प्रहार गरेका थिए । उहाँको सघन उपचार कक्ष (आइसियु) मा सुधार भइरहेको उहाँको पार्टीले जनाएको छ ।

ली जे म्युङमाथि छुरा प्रहार

पत्रकारहरूले घेरिएको अवस्थामा एक व्यक्तिले लीको घाँटीको देब्रेपट्टि छुरा प्रहार गरेको बुसान प्रहरी अधिकारी सोन जे–हानले पत्रकार सम्मेलनमा बताउनुभयो । लीको डेमोक्रेटिक पार्टीका क्वोन चिल–सेउङले लीलाई सुरुमा बुसानको अस्पताल लगिएको र पछि राजधानी सोल लगिएको पत्रकारहरूलाई बताउनुभयो । उहाँका अनुसार सोलमा उहाँको दुई घन्टासम्म शल्यक्रिया गरिएको छ ।

“गलाको आन्तरिक नसामा क्षति पुगेको पुष्टि भएको छ”, उहाँले भन्नुभयो, “शल्यक्रियापछि ली होशमा हुनुहुन्थ्यो, हाल आइसियुमा भर्ना हुनुभएको छ र सुधार भइरहेको छ ।”

आक्रमणकारीलाई घटनास्थलबाटै पक्राउ गरिएको छ । प्रहरी अधिकारी सोनका अनुसार ६० वर्षीय आक्रमणकारीले १३ सेन्टिमिटर लामो ब्लेड भएको १८ सेन्टिमिटर छुरा प्रयोग गर्दथे र यसलाई उनले अनलाइनमा खरिद गरेका थिए ।

दक्षिण कोरियाली टेलिभिजन स्टेसनहरूमा प्रसारित फुटेजमा प्रहरीले संदिग्ध व्यक्तिलाई भुइँमा लडाएको देखिएको थियो । योन्हाप समाचार एजेन्सीका अनुसार दक्षिण कोरियाली अधिकारीहरूले आक्रमणकारीविरुद्ध हत्या प्रयासको अभियोग लगाउने योजना बनाएका छन् ।

आक्रमणकारीले आफ्नो मनसाय लीलाई मार्ने रहेको प्रहरीलाई बताएको योनहापले उल्लेख गरेको छ । एक प्रत्यक्षदर्शीका अनुसार ५९ वर्षीय राजनीतिज्ञ ली पत्रकारहरूसँग कुरा गर्दै आफ्नो कारतर्फ जाँदै गर्दा आक्रमणकारीले उहाँसँग अटोग्राफ मागेका थिए । टेलिभिजन फुटेजमा ली भुइँमा लड्दै गरेके र मानिसहरू उहाँलाई सहयोग गर्न दौडिरहेको देखाइएको छ ।

अग्निशमन विभागका अधिकारीहरूलाई उद्धृत गर्दै हमलामा लीलाई एक सेन्टिमिटर चोट लागेको पहिला खबर दिएको थियो ।

पछिल्ला वर्षहरूमा कयौँ उच्च प्रोफाइलका दक्षिण कोरियाली राजनीतिज्ञमाथि सार्वजनिकरूपमा हमला भएका छन् । सन् २०२२ मा लीभन्दा अघि डेमोक्रेटिक पार्टीको नेतृत्व गर्ने सङ यङ–गिलको टाउकामा एक वृद्ध व्यक्तिले केही वस्तुले हमला गरेका थिए ।

सन् २००६ मा कन्जरभेटिभ पार्टीका तत्कालीन नेता पार्क ग्युन–हेमाथि एक र्यालीमा चक्कु प्रहार गरिएको थियो । हमलामा उहाँको अनुहारमा दाग बसेको छ । पछि उहाँ राष्ट्रपतिसमेत बन्नुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.