दक्षिण अफ्रिकामा आयोजना हुने आइसिसी यू–१९ (उन्नाइस वर्षमुनि) विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन जाने नेपाली टोलीलाई बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टङ्कलाल घिसिङ, क्यानका अध्यक्ष चतुरबहादुर चन्दलगायतले टोलीलाई सफलताको शुभकामना दिनुभयो ।
आगामी माघ ५ गतेदेखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा १६ राष्ट्रका खेलाडी सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
नेपाल समूह ‘डी’ मा रहेको छ । नेपाल रहेको समूहमा अफगानिस्तान, पाकिस्तान र न्युजिल्यान्ड छन् । त्यस्तै समूह ‘ए’ मा भारत, बङ्गलादेश, आयरल्यान्ड र अमेरिका, समूह ‘बी’ मा इङ्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र स्कटल्यान्ड तथा समूह ‘सी’ मा अस्ट्रेलिया, श्रीलङ्का, जिम्बावे र नामिबिया छन् ।
प्रत्येक समूहका शीर्ष तीन टोली अर्को चरणमा प्रवेश गर्नेछन् । नेपालले आइसिसी एसिया छनोटमा संयुक्त अरब इमिरेट्स (युएई) लाई पराजित गर्दै विश्वकपको यात्रा तय गरेको थियो । नेपालले पहिलो खेल आगामी माघ ७ गते न्युजिल्यान्डसँग खेल्ने छ ।
दोस्रो खेल माघ १० गते पाकिस्तानसँग तथा तेस्रो खेल माघ १३ गते अफगानिस्तानसँग खेल्नेछ । त्यसअघि नेपालले यही पुस २८ गते स्कटल्यान्ड र माघ २ गते वेस्ट इन्डिजसँग अभ्यास खेल खेल्नेछ ।
क्यानले विश्वकपका लागि बिहीबार देव खनालको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको थियो । नेपाली टोलीमा कप्तान खनालसहित गुल्सनकुमार झा, दीपकप्रसाद डुम्रे, अर्जुन कुमाल रहेका छन् ।
यसै गरी आकाश त्रिपाठी, दुर्गेश गुप्ता, विशालविक्रम केसी, दीपक बोहरा, सुवास भण्डारी, दीपेशप्रसाद कँडेल, उत्तम थापा मगर, दीपक बोहरा, विपिन रावल, तिलकराज भण्डारी र आकाश चन्द छन् ।
प्रतिक्रिया राख्नुहोस्