पृथ्वी जयन्तीका अवसरमा राप्रपाको विविध कार्यक्रम
अघिल्लो वर्ष सरकारमा सामेल हुँदै पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने पुरानो चलनलाई पुनः निरन्तरता दिन सफल राष्ट्रिय प्रजातन्त्र पार्टीले यस वर्ष भव्य रुपमा पृथ्वी जयन्ती मनाउने भएको छ ।
पार्टीले यही पुस २७ गते ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने र भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ ।
सो कार्यक्रममा प्रधानमन्त्री, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेता, कूटनीतिक तथा संवैधानिक निकायका प्रतिनिधि, धार्मिक सङ्घ सङ्गठन, उद्योगी, व्यवसायी, विभिन्न पेसाकर्मी, बुद्धिजीवीलगायत ८,००० जनालाई निमन्त्रणा गरिएको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभयो ।
पृथ्वी जयन्तीकै दिन ‘पृथ्वीनारायण’ शीर्षकमा कविता लेखन प्रतियोगिताको नतिजा प्रकाशन गरी पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः एक लाख, ५० हजार र २५ हजार तथा सान्त्वना विजेता तीन जनालाई प्रतिव्यक्ति १० हजार पुरस्कार प्रदान गरिनेछ ।
पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवस र उत्सवका रुपमा देशभर मनाउन पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा मूल समारोह समिति समेत गठन गरिएको छ ।
पार्टीले केन्द्र, प्रदेश र स्थानीय तीनै तहमा पृथ्वीनारायण शाहको व्यक्तित्व तथा इतिहास झल्काउने गरी सभा गोष्ठी, शुभकामना आदानप्रदान तथा चियापान समारोह, अन्तक्रिया, दिपावलीलगायत कार्यक्रम गरी उत्सवका रुपमा मनाउन पार्टी मातहतका सबैलाई सर्कुलर गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्