मुस्लिम आयोगका अध्यक्ष अन्सारीद्वारा बङ्गलादेशका प्रधानमन्त्रीसँग भेट
मुस्लिम आयोगका अध्यक्ष समिममियाँ अन्सारीले बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनासँग भेट गर्नुभएको छ ।
बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका क्रममा बङ्गलादेश पुग्नुभएका अध्यक्ष अन्सारीले सोमबार प्रधानमन्त्री हसिनासँग भेट गर्नुभएको हो । प्रधानमन्त्री कार्यालयमा भएको भेटमा द्विपक्षीय र आपसी हितका सम्बन्धका विषयमा छलफल भएको मुस्लिम आयोगले जनाएको छ । भेटमा अध्यक्ष अन्सारीले दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको स्मरण गर्दै नेपाल र बङ्गलादेशबीच व्यापार, आर्थिक साझेदारीलगायतमा सहकार्यको सम्भावना रहेको बताउनुभएको थियो ।
अध्यक्ष अन्सारीले नेपालबाट धेरै विद्यार्थी बङ्गलादेशमा पुगेको र कतिपय बङ्गलादेशी विद्यार्थी पनि नेपालमा अध्ययनरत रहेकाले शैक्षिक सहकार्य गर्न सकिने धारणा राख्नुभएको थियो ।
त्यस अवसरमा बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध असल छिमेकीको सम्बन्धको सिद्धान्त र पारस्परिक लाभमा आधारित रहेको बताउनुभएको आयोगले जनाएको छ । अध्यक्ष अन्सारी र आयोगका सदस्य महमदिन अली बङ्गलादेशमा भएको आमनिर्वाचनको पर्यवेक्षणका लागि ढाका जानुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्