विश्व समाचार

संयुक्त राष्ट्रसङ्घीय प्रशिक्षण केन्द्रमा आक्रमण : कम्तीमा नौजनाको मृत्यु

गाजाको प्रमुख दक्षिणी सहर खान युनसस्थित संयुक्त राष्ट्रसङ्घको प्रशिक्षण केन्द्रमा बुधबार आक्रमण गरी आगो लगाइएको छ । घटनामा परी कम्तीमा नौ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् ।

गाजामा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घ राहत तथा योजना निकायका एजेन्सीका निर्देशक थोमस ह्वाइटले सामाजिक सञ्जाल एक्स (ट्रवीटर)मा जनाएअनुसार आठ सय जना मानिसहरु बसोबास गरिरहेको भवनमा गोलाबारी भएको थियो ।

आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको छ भने अन्य ७५जना घाइते भएका छन् । युएनआरडब्लुए र विश्व स्वास्थ्य सङ्गठनका उद्धार टोलीहरू उद्धारको लागि केन्द्रमा पुग्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो ।

खान युनूसको पश्चिमी क्षेत्रमा इजरायली बम विष्फोटले प्रशिक्षण केन्द्रमा ठूलो आगलागी निम्त्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

आगलागीले भवनको ठूलो भागमा क्षति पुगेका कारण धेरै मृतक तथा घाइते व्यक्तिलाई केन्द्र भित्रबाट बाहिर सार्नु परेको उहाँले बताउनुभयो ।

इजरायली सेनाले लगाएको घेराबन्दीका कारण एम्बुलेन्स र मेडिकल टोलीहरू जलिरहेको प्रशिक्षण केन्द्रमा पुग्न नसकेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्यालेस्टिनी विदेश मन्त्रालयले प्रशिक्षण केन्द्रमा भएको गोलाबारीको निन्दा गरेको छ । युएनआरडब्लुएका संस्था, कर्मचारी, विद्यालय, आश्रय र उपकरणहरूलाई इजरायलले सुनियोजित रूपमा आक्रमण गरेको मन्त्रालयले बताएको छ ।

पछिल्लो २४ घण्टामा, इजरायली सेनाले गरेको २४ वटा आक्रमणमा २१० प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा अन्य ३८६ जना घाइते भएका छन् ।

सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको आक्रमणजन्य घटनाका कारण २५ हजार ७०० प्यालेस्टिनीको मृत्यु भइसकेको छ । आक्रामणमा घाइतेहरूको कूल सङ्ख्या ६३ हजार ७४० पुगेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.