राजनीति

समुन्नत समाज निर्माण प्रमुख गन्तव्य : कानुनमन्त्री गुरुङ

नेपाल सरकारका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले समुन्नत समाज निर्माण आफ्नो प्रमुख गन्तव्य भएको बताउनुभएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले शनिबार नगरपालिकाको वडा नं १० अर्खौलेमा आयोजना गरेको अन्तरमाध्यमिक विद्यालयस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटनमा सम्बोधन गर्नुहुँदै मन्त्री गुरुङले नेताहरू लोभबाट मुक्त हुन आवश्यक रहेको बताउनुभयो । उहाँले नेताहरूमा लोभको घैँटो रहुञ्जेल जनताले सुख नपाउने बताउनुभयो ।

कानुनमन्त्री गुरुङ

“नेताहरूमा एउटै यात्रा सदाचारको हुन आवश्यक छ । नेताहरूमा लोभको घैँटो रहुञ्जेल जनताले सुख पाउँदैनन्”, उहाँले भन्नुभयो, “नेताहरू लोभबाट मुक्त हुन आवश्यक छ । लोभबाट मुक्त भएर अगाडि बढ्न सकेमात्र समुन्नत समाज निर्माण गर्न सफल हुन्छौँ । यो अभियान आफैँबाट सुरु गर्नुपर्छ ।”

मन्त्री गुरुङले आजका विद्यार्थीहरु मुलुकको भविष्य भएको भन्दै उनीहरुको भविष्य निर्माणमा सबैको उत्तिकै भूमिका हुने बताउनुभयो । उहाँले प्रतियोगितामा सहभागी विद्यार्थीलाई आफू सफल हुनुको उदाहरणसमेत प्रस्तुत गर्नुभएको छ । “हाम्रो पालमा बिहान–बेलुका गाईवस्तुलाई घाँस नकाटी विद्यालय जान पाइन्नथ्यो । म पनि स्याङ्जाको एउटा ग्रामीण विद्यालयमा पढेको व्यक्ति हुँ । तपाईँहरूको भन्दा कठिन थियो मेरो दिनचर्या ! रातिमात्र गृहकार्य गर्न पाउँथे”, उहाँले भन्नुभयो, कठिन परिस्थितिमा कोही पनि बिचलित हुनु हुँदैन । लगनशील भएर अगाडि बढिरहनुपर्छ । लगनशील भएको खण्डमा कोही पनि असफल भइन्नँ ।”

नगरप्रमुख विमला राईले सङ्घ तथा प्रदेश सरकारबाट विनियोजन भएर स्थानीय तहमा आउने योजना कार्यान्वयनमा केही कानुनी जटिलता भएकाले त्यसलाई संशोधन गर्न मन्त्री गुरुङलाई अनुरोध गर्नुभएको छ ।

“सङ्घ तथा प्रदेश सरकारबाट परेका योजना कार्यान्वयन गर्न स्थानीय सरकारलाई अधिकार छैन । हाम्रो क्षेत्राधिकारभन्दा बाहिर हुनेबित्तिकै ठेकेदार कम्पनीले लापरवाही गरेको पाइन्छ”, उहाँले भन्नुभयो, “यहाँको पालामै ती कानुनी व्यवधानलाई संशोधन गरियोस्, ता कि आगामी दिनमा स्थानीय सरकारका जनप्रतिनिधिले सहजरुपमा काम गर्न पाउन् ।”

नगरप्रमुख राईले नगरपालिकाको समग्र विकासका लागि पहल गरिदिनसमेत मन्त्री गुरुङलाई अनुरोध गर्नुभएको छ । आफूहरूले जनताकै पक्षमा काम गर्दागर्दै केही व्यक्तिको निहित स्वार्थका कारण कानुनी झमेला व्यहोर्नुपरेको जानकारी दिनुहुँदै नगरप्रमुख राईले आगामी दिनमा त्यस्तो झमेलाबाट मुक्त हुनेगरी कानुन संशोधन गर्न मन्त्री गुरुङसमक्ष माग राख्नुभएको छ ।

मन्त्री गुरुङलाई अर्खौलेस्थित सालपा खेलमैदानमा आयोजित कार्यक्रमस्थलमा विभिन्न जातजातिको सांस्कृति झाँकीद्वारा स्वागत गरिएको थियो । रनिङ शिल्ड प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने छ । प्रतियोगितामा तीनवटा विधाका ३० वटा इभेन्टमा १४ वटा माध्यमिक विद्यालयका विद्यार्थीले प्रतिस्पर्धा हुने नगरपालिकाका खेल प्रशिक्षक मिलन कसजूले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.