सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्छ : केसी
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले विज्ञापनमा नेपाली कलाकारको सहभागिता अनिवार्य गराउनुपर्ने र कलाकारहरुले विज्ञापनमा काम गर्दा सजग हुनुपर्ने बताउनुभएको छ ।
सोमबार विज्ञापनन बोर्डले आयोजना गरेको कार्यक्रममा कलाकार तथा निर्देशक समेत रहनुभएका केसीले कानुन विपरीत हुने विज्ञापनमा अभिनय गर्दा कलाकारले समस्या खेप्नु परेको उल्लेख गर्दै सो सुझाव दिनुभएको हो ।
उहाँले कलाकारहरुले कुन सामग्रीको विज्ञापन गर्ने र केको नगर्ने भन्ने कुरामा धेरै सजग हुन जरुरी रहेको बताउँदै मदिरा, चुरोटलगायतका विज्ञापन कलाकारहरुले गर्न नहुने स्पष्ट पार्नुभयो ।
अध्यक्ष केसीले गलत सन्देश दिने विज्ञापन गर्न नहुने र सामाजिक कामका विज्ञापन निःशुल्क गर्नुपर्ने बताउँदै विज्ञापनदाताहरुले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सतर्क हुन जरुरी रहेको बताउनुभयो ।
अध्यक्ष केसीले भन्नुभयो, समाजमा कहिलेकाहीँ एकदमै राम्रा सामाजिक कामका विज्ञापन निःशुल्क पनि गरिदिनुपर्छ र गरेका पनि छौँ । त्यस्तोमा कलाकारहरु सजग हुनुपर्छ र विज्ञापनदाताले पनि कुन उत्पादनको विज्ञापन गराउने र कुनको नगराउने भन्नेमा धेरै सजग हुनुपर्छ ।
कार्यक्रममा नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले विद्यमान ऐन, कानुन र आचारसंहिताको पालनासहित मौलिक र सिर्जनात्मक भई व्यावसायिकतालाई प्रोत्साहन गर्ने गरी विज्ञापनमा कलाकारले अभिनय गर्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्