राजनीति

सार्वजनिक बिदा नदिए पनि फागुन १ गते जनयुद्ध दिवस नै हो

उपप्रधान तथाा गृहमन्त्री एवं नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सरकारले जनयुद्ध दिवसको बिदा नदिए पनि फागुन १ गते जनयुद्ध दिवस नै भएको बताउनुभएको छ ।

आबाट राजधानीमा सुरु भएको माओवादी केन्द्रको विधान सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले सरकारीस्तरमा दिवस मनाउन नपाए पनि आज देश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी सो दिवस मनाइएको बताउनुभयो ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियालाई पूरा गरेर आगामी दिनमा थप व्यवस्थितरुपमा दिवस मनाउने विश्वास व्यक्त गर्नुभयो । जनयुद्ध र जनआन्दोलनको संयोजनबाट मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र नेपालको शान्ति प्रक्रिया मौलिकरुपमा पूरा भएको उहाँको कथन थियो ।

“नेपालको ऐतिहासिक परिवर्तनमा मुख्य र निर्णायक भूमिका प्रचण्डको नेतृत्वमा सम्पन्न भएको जनयुद्ध नै थियो भन्ने कुरामा कुनै विवाद छैन, विवाद पनि गर्न हुँदैन”, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो, “शान्ति प्रक्रिया अगाडि बढाउने क्रममा अध्यक्ष प्रचण्डकै नेतृत्वमा भएको र यसले नेपाली समाजलाई रुपान्तरण गरेको छ, उहाँकै दूरदृष्टिअनुसार जनयुद्धले गणतन्त्र स्थापना भएको हो ।”

सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा मात्र हाम्रो लक्ष्य नभएको उल्लेख गर्दै उपाध्यक्ष श्रेष्ठले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरेर समाजवादउन्मुख लोकतान्त्रिक गणतन्त्र दिशामा अगाडि बढ्नु पार्टीको मूल लक्ष्य हुनुपर्ने बताउनुभयो ।

समाजवादको नयाँ आधार तयार पार्नका लागि सबै क्रान्तिकारी शक्तिलाई एकताबद्ध गरेर अगाडि बढाउनुपर्नेमा जोड दिँदै उहाँले राष्ट्रिय सार्वभौमिकता, प्राप्त उपलब्धिको रक्षा, सुशासनसहितको समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नु नै अबको कार्यभार भएको बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.