उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले हार्दिक स्वागत गर्नुभयो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभयो ।
निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालयको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।
निरीक्षण पश्चात आयोजित कार्यक्रममा गृहमन्त्री लामिछानेले कार्यक्रममा उपस्थित तथा भर्चुअल रूपमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले संगठनको निर्माण र उच्च छवि बनाउन योगदान दिनु हुने सम्पूर्ण पूर्व प्रहरी अधिकृतहरू र बहालवाला प्रहरी अधिकृत तथा जवानहरू प्रति सम्मान समेत प्रकट गर्नुभयो ।
कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी कानूनी परिधिमा रही निर्वाह गर्नुपर्ने तथा उनीहरूको वृत्तिविकासको सुनिश्चितता संगठनले गर्नुपर्ने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो,“कर्मचारीहरूको सरूवा, बढुवा तथा वृत्तिविकासका लागि आवश्यक पर्ने नीति र योजना बनाएर ल्याउनुहोस् । त्यसको कार्यान्वयनको लागि के कसरी गर्नुपर्ने हो सहजीकरण गर्न तयार छु ।” निर्धक्क भएर नीति र विधिको परिधिमा रहेर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । ठूलो जनशक्ति तल्लो तहका कर्मचारीहरूको भएको र उनीहरूको गुनासो सम्बोधन गर्न प्राथमिकतामा राखिएको उहाँले बताउनुभयो ।
हरेक नागरिकले सुरक्षाको अनुभूति हुने गरी सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्दै गृहमन्त्री लामिछानेले भन्नुभयो, “कुनै पनि घटना तथा अपराधको छानविन र अनुसन्धान हुँदै गर्दा को प्रतिवादी हुने वा नहुने निर्धारण आदेशले होइन प्रमाणले गर्नुस् । अनुसन्धान प्रमाणमुखी हुनुपर्दछ र कानूनको नजरमा सबै बराबर हुनुपर्दछ ।” कानूनको नजरमा अनुहार, पद, प्रतिष्ठा हरेर होइन प्रमाणको आधारमा निष्पक्ष भएर अनुसन्धान तथा कारवाही गर्न आग्रह गर्दै त्यसबाट उब्जने चुनौतिको डटेर सामना गर्दा र सुरक्षा कवच भएर आफै उभिने उहाँले बताउनुभयो । प्रहरी कर्मचारी चुस्त, फुर्तिलो, अनुशासित, चनाखो, दह्रो, खरो प्रहरी आफूले हेर्न चाहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “जसलाई देख्दा बद्मासहरूलाई डर होस् र आम सर्वसाधरणलाई भर होस् ।”
गृहमन्त्री लामिछानेले वैज्ञानिक प्रविधिको प्रयोगबाट हुने अपराधको अनुसन्धानमा प्रविधिको प्रयोग सँगसँगै लिएर वैज्ञानिक उपकरणहरू र दक्ष जनशक्तिको विकास आवश्यक रहेको उल्लेख गर्नुभयो । पीडित महिला तथा बालबालिका, वृद्धवृद्धा, असहाय, गरिब, फरक क्षमता भएका वर्गको न्यायका लागि अझ बढि सजग र सचेत भई विशेष प्राथमिकताका साथ सम्बोधन गर्न उहाँले निर्देशन दिनुभयो । मिटरब्याज पीडित, सहकारी पीडितहरूको समस्या ठूलो चुनौतिको रूपमा रहेको उल्लेख गर्दै आर्थिक अपराध, ठगी, साइबर क्राइम लागूऔषध कारोबार लगायतका आपराधिक गतिविधि नियन्त्रण तथा अनुसन्धानमा जनचेतना अभिवृद्धिको साथै मन, वचन र कर्मले सेवाभावका साथ जनअपेक्षा अनुरूप काम गर्न उत्प्रेरित भई उत्कृष्ट नतिजा ल्याउन उच्च मनोबलका साथ काम
गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहमन्त्रीज्यूबाट भएको अत्यन्त सारगर्भित, समयसापेक्ष र व्यावसायिक निर्देशन कार्यान्वयनका लागि संगठन पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो । समयको गतिशीलता र परिवर्तनमुखी सामाजिक परिवेश सँगै श्रृजित चुनौतिहरूलाई निस्तेज तुल्याउँदै, समाजको परिवर्तनको गति र दिशा अनि आम नागरिकको चाहना बमोजिम प्रहरी सेवालाई समयसापेक्ष थप जनमुखी, परिष्कृत, उत्तरदायी, समावेशी, विश्वसनीय, सर्वस्वीकार्य र भरोसा योग्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उहाँले उल्लेख गर्नुभयो ।
राज्यले अंगिकार गरेको नीति र दिएको निर्देशन, कुनै गुनासो र स्वार्थ बिना कार्यान्वयन गर्ने आफ्नो मूलभूत दायित्वबाट कहिल्यै विमुख नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “नेपाल प्रहरीको संस्थागत विकास, यसमा आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूको व्यावसायिक मनोबल र समग्र सांगठनिक हितको लागि तालुक गृह मन्त्रालयबाट अभिभावकीय भूमिका निर्वाह हुनेमा नेपाल प्रहरी विश्वस्त रहेको छ ।” कानूनले प्रदान गरेको पद र त्यसमा निहित अधिकारको दुरूपयोग गरी गैह व्यावसायिक क्रियाकलाप र आर्थिक अनियमिततामा संलग्न रहने प्रवृत्ति उपर नेपाल प्रहरीले निर्मम प्रहार गर्दै प्रहरी संगठनमा आन्तरिक शुद्धिकरण मार्फत सांगठनिक सुदृढिकरणलाई अर्जुन दृष्टि मान्दै सोही अनुरूप संगठन क्रियाशील रहेको उहाँले चर्चा गर्नुभयो ।
निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछाने समक्ष प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना, अपेक्षा र प्रहरी समायोजन लगायतका विषयमा नेपाल प्रहरीको सांगठनिक प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा गृहसचिव दिनेश भट्टराई, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका सहसचिव तथा पदाधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, विभिन्न प्रहरी गणहरू, तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।
प्रतिक्रिया राख्नुहोस्