आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् : रेशम
नागरिक उन्मक्ति पार्टीका संस्थापक तथा संरक्षक रेशमलाल चौधरी र सो पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता रञ्जिता श्रेष्ठ नातामा पतिपत्नी रहे पनि नयाँ सत्ता गठबन्धनका कारण दूरी पैदा भएको छ ।
सत्ता गठबन्धनमा भएको परिवर्तनसंगै पुरानो गठबन्धनमा पनि रहेको पार्टी अध्यक्ष रञ्जिताले नयाँ गठबन्धनलाई समर्थन गरेपछि रेशम र उहाँबीच मतभेद देखिएको हो ।
केन्द्रमा सरकारलाई समर्थन गरेपछि सुदूरपश्चिम प्रदेशको पुरानो गठबन्धनबाट पार्टी बाहिरिएको भए पनि संरक्षक चौधरीले भने सोही समूहलाई समर्थन गरेपछि पारिवारिक विखण्डन नै आउने हो कि भन्ने चिन्ता गरिएको छ ।
वर्तमान गठबन्धनमा सामेल हुनुहुन्न भन्दै अडानमा रहनुभएका चौधरीले काठमाडौंमा रहनुभएकी पार्टी अध्यक्ष तथा संसदीय दलका नेता रञ्जितासंग यस विषयमा लामो छलफल गरे पनि निष्कर्ष निस्किएन ।
आफ्नी श्रीमतीसंगको राजनीतिक संवाद निष्कर्षमा नपुगेको र दुबै आआफ्नै अडानमा रहेपछि रेशमले सामाजिक सञ्जाल फेसबुकमा यस विषयमा लामो प्रतिक्रिया दिनुभएको छ ।
चौधरीले सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै भएकाले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ भन्नुभएको छ ।
चौधरीको प्रतिक्रिया जस्ताको तस्तै उहाँको फेसबुकबाट-
बिषय जित हारको होइन,
आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरी देउवा जित्लान् । सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिध्याउने नै हो । त्यसैले हामी कसैका पछाडी नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ ।
सन्दर्भ : घर झगडा हुँदै होइन, बिषय राजनैतिक हो । मैले जानेको बुझेको यहि हो । जुनसुकै गठबन्धनका पछि लाग्नु भनेको पार्टी डुबाउनु हो ।
आज पनि हेर्नुस् , एमाले, माओवादी, कांग्रेस । यी ठुला दलका नेता, कार्यकर्ता सांसद कतै चलमलाएका छन र ? तर एकीकृत समाजबादी, जसपा, नाउपा, लोसपा, रास्वपा, राप्रपा जस्ता साना दलमा कत्रो भुँईचालो गएको छ ?
त्यसैले कुरा बुझौं, कुनै पनि गठबन्धनका पछाडी नलागौँ ।
नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट होइन, भौगोलिक सांस्कृतिक पहिचान सहितको संघीयताका लागि समुदायमा आधारित समाजबाद प्रत्युत्पादनका लागि जन्मेको पार्टी हो । त्यसैले एक अर्कोमा हिलो छ्यापाछ्याप नगरौँ । आफ्नो नीति सिद्धांत अनुरुप चलौँ ।
कुरो रह्यो बुढाबुढिको । म उनलाई सम्झाउन कैलालीबाट काठमाडौं आएकै हुँ । दुई घन्टा वार्ता गरेकै हुँ,उनी टस कि मस भैइनन् । उनको भनाइ छ – प्रचण्डले हाम्रो राजबन्दि रिहाइ गरे,हामीले उनको साथ छोड्नुहुन्न । अरे लाटी, टिकापुर घटना पछि पनि प्रचण्ड दुइचोटी प्रधानमन्त्री भएकै थिए,हाम्रो मुद्दामा उनको सहानुभूति जरुर थियो तर हामी रिहा भएनौँ नि ।
अहिले पनि कसैको कृपाले राजबन्दी रिहाई गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाई भएका हौँ र तिमी पनि मन्त्री भएकि हौ । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामिले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो ।
मैले तिमिलाई सम्झाउन सकिन प्रिय र आफुले जन्माएको बच्चाको घाँटी निमोठेर हत्या गर्न पनि सक्दैन । आज लोग्ने स्वास्नीका कारण पार्टी डुब्ने भो भन्छन् । मलाई चिन्ता यसैमा छ,तिम्रो र मेरा कारण जनताको मन दुख्नु हुन्न । आज जतिले मन दुखाएका छन् ती हामीलाई हृदय देखि चाहनेवाला हुन् । मलाई भोट हाल्,मलाई भोट हाल भन्नेहरु हामीलाई डुबाउने वाला मात्रै हुन् । मेरो कुरा मान्ने हो भने कसैलाई भोट नहालौँ टण्टै साफ ।
हो,जेलमा मैले लेखेको बिधानले आज पार्टी चलेको छ । तर मैले सबैको सदुपयोगीका लागि बिधान लेखेको हुँ,दुरुपयोगका लागि होइन । अहिले बिधानको कारण देखाएर निर्वाचन आयोगले जुन निर्णय गरेको छ त्यो अत्यन्त दुर्भाग्यपूर्ण छ । सबै कानुन जान्नेलाई थाहा छ, महाधिवेशन बिधान भन्दा माथी हुन्छ । सत्ताको सदुपयोग या दुरुपयोग क्षणिक हो तर जनता जनार्दन हुन् । यसका बारेमा अदालतले केहि दिनमा अवस्य न्याय देला ।
तर याद रहोस्,केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कार्वाही गर्नुपर्छ र कार्वाही भोग्नुपर्छ । सबैलाई लागेको होला,केन्द्रीय समितिको निर्णय मैले गराएको हुँ । यो सोच्दै हुनुहुन्छ भने तपाई भ्रममा हुनुहुन्छ । उहिले भन्न सक्दिन अहिले केन्द्रीय समितिले स्वतन्त्र भै निर्णय गरेको हो । अब हरेक निर्णय यसरी नै स्वतन्त्र भै गर्नुपर्छ ।
मेरा कारण लाखौं जनताको मन दुखेको मलाई अनुभुत भएको छ,त्यसकारण म क्षमा चाहन्छुँ तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवसता हो,हार होईन ।
मान्नैपर्छ, दुख दैबले मेरो थाप्लोमा थुपारेरै पठाएको हो ।
चौधरीको लामो प्रतिक्रियापछि रञ्जिताले राजनीतिक असहमतिले परिवार नफुट्ने र चौधरीले सो स्टाटस आफूसंग रहँदा नै लेखेर पोस्ट गरेको बताउनुभएको छ ।
उहाँले भन्नुभयो, “हिजो हाम्रोबीचमा छलफल भएको थियो । म र रेशमजीले पार्टीगत रुपमा बसेर छलफल गरेका थियौं । त्यही अनुसार उहाँले लेख्नुभएको हो’ रञ्जिताले भनिन् । आफूहरुका बीचमा फरक विचार भएकै कारणले परिवार फुट्दैन ।”
प्रतिक्रिया राख्नुहोस्