आफू राष्ट्रपति नभए अमेरिकामा रक्तपात हुन्छ : ट्रम्प
आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपति निर्वाचनमा उम्मेदवार बन्नुभएका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले निर्वाचन नजिते रक्तपात हुने चेतावनी दिनुभएको छ ।
आइतबार अमेरिकाको ओहायो राज्यमा सिनेट उम्मेदवार बर्नी मोरेनोको पक्षमा प्रचार गर्ने क्रममा ट्रम्पले सो विवादास्पद अभिव्यक्ति दिनुभएको हो ।
ट्रम्पले सो अभिव्यक्ति के विषयमा गरेर दिनुभएको हो त्यो भने स्पष्ट नभए पनि ट्रम्पका प्रतिस्पर्धी राष्ट्रपति जो बाइडेनले यसको कडा प्रतिवाद गर्नुभएको छ ।
राष्ट्रपति जो बाइडेनको चुनावी अभियान टिमले ट्रम्पले फेरि अर्को जनवरी ६ निम्त्याउन चाहेको तर अमेरिकी जनताले उनलाई दोस्रोपटक पनि चुनावी पराजय दिने जनाएको छ ।
बाइडेनको चुनावी अभियानका प्रवक्ता जेम्स सिंगरद्वारा जारी विज्ञप्तिमा ट्रम्पको अतिवाद, हिंसाप्रतिको मोह र बदलाको प्यासलाई अमेरिकी जनताले निरन्तर अस्वीकार गर्दै आएको उल्लेख छ ।
नोभेम्बर ५ अमेरिकी इतिहासकै सबैभन्दा महत्वपूर्ण दिन हुने र आफ्नो जित देशका लागि निर्णायक मोड हुने बताउँदै ट्रम्पले जो बाइडन अहिलेसम्मकै खराब राष्ट्रपति भएको टिप्पणीसमेत गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्