बेलायत सरकारले गोर्खा सैनिकको मुद्दा न्यायोचित सम्बोधन गरोस्
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालका लागि बेलायतका राजदूत रब फेनसंग बेलायत सरकारले गोर्खा सैनिकको मुद्दा न्यायोचित रुपमा सम्बोधन गर्नेमा विश्वस्त रहेको बताउनुभएको छ ।
बिहिबार राजदूत फेनले गर्नुुभएको शिष्टाचार भेटवार्तामा उपप्रधानमन्त्री लामिछानेले गोर्खा सैनिकले गरेको योगदान स्मरण गर्दै बेलायत सरकारले गोर्खा सैनिकको मुद्दा सम्बोधन गर्नेमा विश्वस्त रहेको बताउनुभएको हो ।
गृह मन्त्रालयमा भएको भेटमा गृहमन्त्री लामिछानेले एकसय वर्षभन्दा बढीको घनिष्ठ सम्बन्धमा बेलायतले नेपालको पूर्वाधार विकास, सामाजिक उत्थान, सरकारी तथा गैर–सरकारी निकायको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापन, गोर्खा सैनिक भर्नालगायत विषयमा गरेको सहयोग, सहकार्य र समन्वयका लागि आभार व्यक्त गर्नुभयो ।
उहाँले लोकतन्त्रको सुदृढीकरण, जलवायु परिवर्तन अनुकुलन, सामाजिक समावेशीकरण, सामाजिक विभेद र वञ्चितिकरण न्यूनीकरणमा समेत बेलायत सरकारसँग थप समन्वय र सहकार्यको अपेक्षा रहेको बताउनुभयो ।
सो क्रममा राजदूत फेनले जाजरकोट भूकम्पको पुनःनिर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने र नेपालको विकास निर्माण साझेदारीका लागि नयाँ योजना ल्याउने क्रममा रहेको गृहमन्त्रीलाई जानकारी गराउँदै विकासमा साझेदारी अनन्तकालसम्म रहने प्रतिबद्धता जनाउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्