उत्तरपुस्तिका हराएको विषयमा लापरबाही गर्नेलाई तुरुन्त कारबाही होस् : सांसद विद्या भट्टराई
प्रतिनिधिसभाको आजको बैठकमा नेकपा एमालेकी सांसद विद्या भट्टराई विश्वविद्यालयबाट परीक्षार्थीको उत्तरपुस्तिका हराएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । बैठकको शून्य समयमा बोल्दै उहाँले यस विषय उठान गर्नुभएको हो ।
सांसद भट्टराईले परीक्षा दिएर नतिजाको पर्खाइमा रहेका विद्यार्थीलाई उत्तरपुस्तिका हराएकाले पुनः परीक्षा दिनुपर्ने भनी त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरेको भन्दै यसबाट विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताउनुभयो ।
विश्वविद्यालयले गत वैशाखमा जनसङ्ख्या र फाउण्डेसन अफ एजुकेशनको परीक्षा लिएको थियो । सोही परीक्षामा सहभागी कम्तीमा एक सय ८३ परीक्षार्थीको उत्तरपुस्तिका हराएकाले विश्वविद्यालयले पुनः परीक्षा दिनुपर्ने भन्दै सूचना प्रकाशित गरेको थियो । उहाँले यसप्रकारको चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई कडा कारबाही गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्