बागमती प्रदेशसभाको सोमबारको बैठकमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशको समानुपातिक पूर्वाधार विकासमा सबै नागरिकलाई समान अवसरका साथ सहभागी गराउँदै आर्थिक समृद्धितर्फ डोर्याउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
प्रदेशसभाको बैठकमा प्रदेशसभा सदस्यहरुको प्रश्नको जवाफ दिनुहुँदै उहाँले सरकारले प्रदेशहरुका सबै जिल्लामा राष्ट्रिय गौरवको आयोजना, शिक्षा, स्वास्थ्य कृषिको उत्पादनलाई निष्पक्ष र पारदर्शी ढङ्गबाट बजेट र योजना कार्यान्वयन गर्ने जानकारी दिनुभयोे । उहाँले मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरताले राष्ट्रियतामाथि खतरा उत्पन्न हुने चिन्ता व्यक्त गर्नुहुँदै संसद्मा रहनुभएका सबै दलले राष्ट्रको स्वाभिमानप्रति इमान्दारीका साथ लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले अहिले जनतालाई निराश होइन, विश्वास दिलाएर विकासको पूर्वाधारले उत्साहित बनाउनुपर्नेमा जोड दिनुभयो ।
संसद्मा रहनुभएका दलहरुले जनताप्रति जिम्मेवार जवाफदेही बन्नुपर्ने उल्लेख गर्नुहुँदै उहाँले प्रदेश सरकारको आफ्नो सीमित स्रोत र साधनबाट विपन्न नागरिकको जीवनस्तरका आर्थिक सुधार ल्याई स्वास्थ्य उपचार सेवालाई सहजीकरण गर्नेतर्फ सरकार त्यसतर्फ केन्द्रित हुने विश्वास व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री जम्कट्टेलले प्रमुख प्रतिपक्ष र प्रतिपक्ष दलहरुसँग आफूले सम्मानजनक ढङ्गबाट व्यवहार गर्ने र उहाँहरुको सुझाव र सल्लाहलाई आत्मसात् गर्दै प्रदेशलाई सुशासन, भ्रष्टाचारमुक्त र जनतालाई शान्तिसुरक्षा प्रदान गर्न सरकारले निर्णय लिने बताउनुभयो ।
उक्त बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश प्रमुख कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तार र पुनर्गठन एवम् कार्यविभाजनसम्बन्धी पत्र पढेर सुनाउनुभएको थियो ।यसैगरी, उहाँले संसद्को कार्यव्यवस्था परामर्श समितिको सदस्यमा रहनुभएका कुन्दनराज काफ्लेको सट्टा गोविन्दप्रसाद लम्साललाई नाम सिफारिस गर्नुभएअनुसार आजै बसेको प्रदेशसभाको बैठकले अनुमोदन गरेको छ ।प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको अर्को बैठक अनिश्चितकालका लागि स्थगित गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्