भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) मा राजस्थान रोयल्सले लगातार तेस्रो जित हासिल गरेको छ । सोमबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ६ विकेटले पराजित गर्दै राजस्थानले लगातार तेस्रो जित हासिल गरेको हो ।
जारी प्रतियोगितामा मुम्बईको भने यो लगातार तेस्रो हार हो । मुम्बईको घरेलु मैदानमा वानखेडे स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन बनाएको थियो । उसका लागि कप्तान हार्दिक पाण्ड्याले ३४ रन बनाए भने तिलक बर्माले ३२ रन जोडे । त्यस्तै टिम डेभिडले १७ र इशान किशनले १६ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
राजस्थानको लागि ट्रेन्ट बोल्ट र युजवेन्द्र चाहलले समान ३-३ विकेट लिए । त्यस्तै, नन्द्रे गर्गरले २ विकेट लिँदा आभेष खानले १ विकेट हात पारेका थिए । १ सय २६ रनको सामान्य लक्ष्य पछ्याएको राजस्थानले १५.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । राजस्थानका लागि रियान परागले ५४ रनको अविजित अर्धशतकीय पारी खेले भने रविचन्द्रन आश्विनले १६ रन जोड्दा जोस बटलरले १३ र सन्जु स्यामसनले १२ रन बनाए ।
मुम्बईका लागि आकाश मडवालले ३ र कउइना मफाकाले १ विकेट लिए । जितसंगै ३ खेलमा ६ अंक जोडेको राजस्थान शीर्ष स्थानमा उक्लिएको छ भने जितविहीन मुम्बई अंक तालिकाको पुछारमा रहेको छ । प्रतियोगिता अन्तर्गत आज रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्स राति ७:४५ बजे भिड्दै छन् ।
प्रतिक्रिया राख्नुहोस्