जन सरोकार

निकुञ्जमा प्रकृतिक कारणले धेरै बाघ मरे

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा मृतावस्थामा बाघ भेटिने क्रम बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यस वर्ष प्राकृतिक कारणबाट धेरै बाघ मरेका निकुञ्ज कार्यालयले जनाएको छ ।

गत आवमा तीनवटा मृत भेटिएकामा यस आवमा भने सातवटा बाघ मृतावस्थामा भेटिएका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार सबैजसो बाघ प्राकृतिक कारणले मरेका हुन् । तिमध्ये अधिकांश एकापसमा जुधेर मरेका हुन् । बाघ एक्लै बस्न रुचाउने जनावर भएकाले बासस्थानको रक्षा र आहाराको खोजीका क्रममा एकापसमा जुध्ने गरेको उहाँले बताउनुभयो ।

“बाघको सङ्ख्या बढ्दा बासस्थानको खोजीका क्रममा जुध्ने गरेका छन् । अहिलेसम्म बूढो भएर र जुधेर मरेका बाघ मात्रै भेटिएका छन् । चोरी सिकारी र बिरामी भएर यो वर्ष बाघ मरेका छैनन्”, उहाँले भन्नुभयो । बाघको हाडखोर मात्रै भेटिने भएकाले भाले पोथी छुट्याउन कठिन हुने गरेको उहाँले बताउनुभयो ।

निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले नियमित गस्ती बढाएसँगै निकुञ्ज र आसपासका क्षेत्रमा बाघ बढी सङ्ख्यामा मृत भेटिएका हुन् ।

सन् २०२२ को राष्ट्रिय बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा वयस्क बाघ रहेका छन् । देशभर बाघको सङ्ख्या तीन सय ५५ रहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.