जन सरोकार

आफूलाई जोखिममा राखेर पुलमा अड्किएका खच्चड बचाउने साहसी असई

प्रहरीको कर्तव्य आफ्नो ज्यान जोेखिममा राखेर अरुको सुरक्षा गर्नु हो । यस्तै साहसी काम गरेका छन् एक प्रहरी सहायक निरीक्षकले ।

केही दिन अघि कर्णाली नदीको झोलुंगे पुलको लट्ठा चुँडिएपछि पुल पार गर्दै गरेका मध्ये १३ वटा खच्चड पुलकै बिचमा अड्किए । स्थानीय स्रोत साधन अभावले खच्चडको उद्धार सम्भव भएन ।

तर, इलाका प्रहरी कार्यालय कालेकाडाका इन्चार्ज प्रहरी सहायक निरीक्षक रामसिंह फरालले आफूलाई जोखिममा राखेर खच्चड बचाउनुभयो ।

लङलाइन गरेर (डोरीको सहायताबाट उद्धार) उद्धार गर्न सकिने प्रशस्तै व्यवस्था भए पनि राज्य स्तरबाट कुनै पनि सहयोग नभएपछि असई रामसिंहले पुलको बिचमा अड्किएका १३ वटा खच्चडको ज्यान बनाउन सफल हुनुभयो ।

गत आइतबार दिउँसो कर्णाली नदी माथिको झोलुङ्गे पुलमा खच्चड फसेको समाचार देशभर भाइरल भएको थियो । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ कालेकाडाबाट दैलेखको आठविस नगरपालिका ४ खिड्किज्यूलामा खाद्यान्न लिन गएका १३ खच्चड झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेको थियो ।

उहाँको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार भयो तर खच्चडलाई पुलबाट खोलामा फालिएको थियो । पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार भयो भने दुई वटा खच्चड पुलबाट खसेर मरेका थिए ।

उद्धारमा दर्शकका रूपमा जिल्लाका उच्च ओहोदाका कर्मचारीदेखि सर्वसाधारणको उपस्थिति थियो । अछाम र दैलेखबाट जनपथ प्रहरी, अछामबाट सशस्त्र प्रहरी र स्थानीयले उद्धारमा सहयोग गरेका थिए ।

सबैको योगदान भए पनि उद्धारमा ज्यान बाजी राखेर असई रामसिंह फरालले आँट नगर्ने हो भने उद्धार सम्भव नभएको स्थानीय प्रत्यक्षदर्शीहरूको भनाई छ । उहाँको साहसलाई सबैले सम्मान गरेका छन् ।

असई फराल भन्नुहुन्छ, सुरुसुरुमा कसरी खच्चड निकाल्ने भन्ने मेसो नै भएन, जब खच्चडहरू पीडाले छटपटेको देखेँ तब मेरो मनले मानेन । अनि मैले कुनै सुरक्षा विना नै पुलमा एक हातले झुन्डिएर उद्धारमा खटेँ ।

उद्धारमा खटिएका साथीहरूले धेरै जोखिम नगर्न सुझाव दिए पनि फरालको मनले मानेन, उहाँको जवाफ थियो आँखै अगाडि मर्न कसरी दिनु ।

आफूलाई जोखिममा राखेर मानिसकै त उद्धार गर्न हतपत तयार नहुने अहिलेको समयमा फरालले देखाउनुभएको साहस उहाँले प्रहरीमा भर्ना भएपछि लिएको तालिमको परिणाम थियो ।

२०५८ सालमा देशमा सशस्त्र युद्ध भैरहेका बेला प्रहरीमा भर्ना हुनुभएका फरालको यो साहसिक कार्यको प्रेरणा त्यतिबेला कसरी बच्ने र बचाउने भन्ने विषयमा लिएको तालिम रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.