वैकल्पिक राजनीतिक शक्तिहरू एकताबद्ध हुन्छन् ?
मुलुकको राजनीतिमा पुराना दलहरुको हालिमुहाली रहेको र उनीहरुबाट मुलुकले निकास नपाएकाले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता धेरै पहिलेदेखि नै हुँदै आएको छ ।
गत आम निर्वाचनमा परम्परागत राजनीतिक दलहरुलाई चुनौति दिंदै नयाँ शक्तिको उदय भयो । तर, नयाँ भनिएकाहरुबीच पनि कार्यगत र वैचारिक सामन्जस्यता नहुँदा आरोप–प्रत्यारोप नै चलिरहेको छ ।
यसबीच विभिन्न राजनीतिक दलका नेताहरूले वैकल्पिक राजनीतिक शक्तिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।
बुधबार नेपाल समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा आयोजित ‘वैकल्पिक राजनीतिको औचित्व र सम्भावना’ विषयक अन्तरक्रियामा सहभागी दलका नेताहरूले नयाँ शक्तिहरू विचार र मुद्दाका आधारमा एकताबद्ध भएर जानुपर्नेमा जोड दिनुभएको हो ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै मुलुकको विकास र आर्थिक समृद्धिको यात्रामा सबै राजनीतिक दलहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले वैकल्पिक नयाँ शक्ति कुनै लहडमा नभई समयको माग र परिस्थिति भएको बताउनुभयो ।
उहाँले लोकतान्त्रिक स्थिरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक तर प्रत्यक्ष निर्वाचित व्यवस्थापिका हुनुपर्ने आफ्नो पार्टीको सङ्कल्प रहेको उल्लेख गर्नुभयो ।
दुई दशकभित्र देशलाई अति कम विकसित अवस्थाबाट विकसित चरणमा रुपान्तरण गर्न तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दिगोपन र मानवीय खुसीका चार आयामसहित समृद्धिको कार्ययोजना निर्माण गरिनुपर्ने उहाँको धारणा थियो ।
जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले नयाँ शक्तिहरूबीच एकताबद्ध भइ सडक सङ्घर्षबाटै अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले वैचारिक रुपमा जनमत पार्टी र नेपाल समाजवादी पार्टीको मुद्दा समान रहेकाले आगामी दिनमा सहकार्य गर्न सकिने धारणा राख्नुभयो ।
आम जनता पार्टीका अध्यक्ष प्रभु साहले अग्रगामी सोचका राजनीतिक शक्तिहरू एकताबद्ध भएर जनताको हितमा सक्रिय हुनुपर्ने बताउनुभयो ।
विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बास्कोटाले नयाँ खुलेका वैकल्पिक राजनीतिक शक्तिहरूबीच ध्रुवीकरण जरुरी भएको बताउनुभयो ।
नागरिक उन्मुक्ति पार्टीका संयोजक रेशम चौधरीले युवा पुस्ताका नेता र नयाँ विचार बोकेका राजनीतिक दलहरू एकताबद्ध भएर अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो । पहिचानवादी मोर्चाका अध्यक्ष खगेन्द्र माखिमले नयाँ शक्तिहरू परिवर्तनको चाहनालाई पूरा गर्न एक भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।
लेखक खगेन्द्र सङ्ग्रौलाले जुट र फुटको राजनीतिबाट अघि बढिरहेका राजनीतिक शक्तिहरूले मुलुकको निकास दिन नसक्ने दाबी गर्नुभयो ।
कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरू, नागरिक समाजका अगुवा, अर्थशास्त्री, सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।
विसं २०७३ जेठ ३० गते वैकल्पिक राजनीतिक अभियानका रुपमा नयाँ शक्ति पार्टी स्थापना गरी विभिन्न चरणमा एकता र विभाजन हुँदै अहिले नेपाल समाजवादी पार्टी बनेको हो । सोही दिनको स्मरण गर्दै प्रत्येक वर्ष स्थापना दिवस मनाइँदै आएको समाजवादी पार्टीले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्