२० दशमलव २७ प्रतिशत नेपाली अझै गरिबीको रेखामुनी
नेपालको कूल जनसङ्ख्याको २० दशमलव २७ प्रतिशत जनसङ्ख्या अझै गरिबीको रेखामुनि रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको जीवनस्तर सर्वेक्षणमा सो कुरा उल्लेख गरिएको हो ।
जनताको जीवनस्तर मापन गरी देशमा रहेको गरिबीको अवस्था थाहा पाउनका लागि जीवनस्तर सर्वेक्षण सञ्चालन गरिन्छ । प्रतिवेदनमा नसर्ने रोग बढ्दै गएको देखाएको छ ।
तेस्रो सर्वेक्षणमा ११ दशमलव सात प्रतिशत रहेकामा हाल यसको अवस्था १८ दशमलव पाँच प्रतिशत पुगेको छ । सबैभन्दा धेरै रक्तचापका १९ दशमलव आठ प्रतिशत, पेटसम्बन्धी रोग १४ दशमलव सात प्रतिशत, मधुमेह नौ दशमलव तीन प्रतिशत, श्वासप्रश्वासम्बन्धी रोग आठ दशमलव छ प्रतिशत छ ।
प्रतिवेदनमा सङ्क्रामक रोगमा पनि वृद्धि भएको देखाएको छ । अघिल्लो सर्वेक्षणमा २० प्रतिशत रहेकामा हाल २४ दशमलव नौ प्रतिशत छ । छ दशमलव चार प्रतिशतले करारमा, २८ दशमलव सात प्रतिशतले मासिक तलबभत्ता बुझ्ने गरी दीर्घकालीन प्रकृतिको र ६४ दशमलव नौ प्रतिशतले दैनिकरुपमा भुक्तानी पाउने गरी रोजगारी गर्दै आएको प्रतिवेदनमा उल्लेख छ ।
हालको न्यूनतम आधारभूत आवश्यकताको औसत लागत रु ७२ हजार नौ सय आठ बराबर छ । अर्थात् हरेक नेपालीले आफ्ना आधारभूत आवश्यकता पूर्ति गर्न वार्षिक सो रकम खर्च गर्दछन् । सोमध्ये खाद्य आवश्यकता पूर्ति गर्न रु ३५ हजार २९ र गैरखाद्य आवश्यकता पूर्ति गर्न रु ३७ हजार आठ सय ७९ बराबर खर्च गर्ने गरेका छन् ।
सर्वेक्षणअनुसार आधा घण्टाको दूरीमा प्राथमिक विद्यालयको पहुँचमा रहेको जनसङ्ख्या ९० दशमलव आठ प्रतिशत छ त्यस्तै सो अवधिमा बजार केन्द्रको पहुँच भएको जनसङ्ख्या ७२ दशमलव सात प्रतिशत, सहकारी संस्थामा पहुँच भएको जनसङ्ख्या ८३ दशमलव तीन प्रतिशत र बैंकको पहुँचमा भएको जनसङ्ख्या ७४ दशमलव दुई प्रतिशत छ ।
शिक्षा क्षेत्रमा हुने खर्च प्रतिव्यक्ति वार्षिक रु २९ हजार सात सय ४२ छ । सोमध्ये गरिबीको रेखामुनि रहेको व्यक्तिले औसत रु छ हजार एक सय ४५ र गरिबीको रेखामाथि व्यक्तिले औसत ३५ हजार छ सय ८२ बराबर खर्च गरेको सर्वेक्षणले देखाएको छ ।
तथ्याङ्क कार्यालयले २९ माघ २०८० मा प्रतिवेदनको सङ्क्षिप्त नतिजा प्रकाशित गरिसकेको छ । सर्वेक्षणमा उपभोग, सेवासुविधामा पहुँच, आवास तथा आवासीय सुविधाको उपभोग, शिक्षा, स्वास्थ्य, रोजगारी, आम्दानी, बचत तथा ऋण, विप्रेषण, जग्गाको स्वामित्व र उपयोग आदिको विषय समेटिएको छ ।
प्रतिक्रिया राख्नुहोस्