मिटरब्याजको नाममा घरजग्गा कब्जा र लगातार बलात्कार, दोषी जेल चलान
तराई मधेशका जिल्लाहरुमा मिटर ब्याजको आतंक मच्चिएका घटनामा सबै जानकार रहे पनि राजधानी उपत्यकाभित्रै यस्तो अपराध रहेको र ऋणले घरजग्गा मात्र होइन, बलात्कारको शिकार पनि हुनुपरेको घटना सार्वजनिक भएको छ ।

मिटरब्याजी सूर्जमान मालीले ललितपुरकी एक महिलालाई पाँच लाख ऋण दिएको आडमा लगातार बलात्कार र घरजग्गा कब्जा गरेका थिए ।
उनको सोही कसुरमा आइतबार ललितपुर जिल्ला अदालतले दोषी ठहर गर्दै १० वर्ष कैद र ५० हजार जरिवाना हुने गरी सजाय तोकेको छ ।
अदालतकी न्यायाधीश रिताकुमारी बख्रेलको एकल इजलासले मिटरब्याजी मालीलाई मानव बेचविखन तथा ओसारपसार कसुरमा दोषी ठहर गर्दै पीडित महिलालाई पाँच लाख रुपैया क्षतिपूर्ति भराउनुपर्ने आदेश पनि गरेको छ ।
यसै गरी महिलालाई यौन शोषण गर्न सघाउने उमेश शाहीको हकमा एक महिना कैद, दुई हजार जरिवाना र पीडितलाई ५० हजार रुपैयाँ क्षतिपूर्ती भराउनुपर्ने आदेश गरेको छ ।
पीडित महिलाले मदिराको कुलतमा फसेका श्रीमानको उपचार गर्न आफन्त पर्ने मालीबाट २०७५ सालमा ५ लाख रुपैयाँ ऋण लिएकी थिइन् । सो ऋणको मासिक ब्याज ५० हजार थियो । आयआर्जन नभएकी ऋणी महिलाले ऋणसापट गरेर मासिक ५० हजार रुपैयाँका दरले दुईपटक ब्याज तिरिन् ।
यसपछि ऋणको ब्याज घटाइदिने भन्दै मालीले उनीमाथि पटक पटक आफूले मात्रै बलात्कार गरेनन्, अरुलाई पनि यौन शोषण गर्न लगाए । ब्याज घटेन, बरु बलात्कारको विषय सार्वजानिक गरिदिने भन्दै ५५ लाख रुपैयाँको (मिटरब्याज) तमसुक गराएर घरजग्गा नै कब्जा गरेका थिए ।
यसबारे गतसाल साउनमा समाचारहरु प्रकाशन भएपछि पीडित महिलाले २०८० साउन १४ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ‘मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुर मुद्दामा जाहेरी दर्ता गरिन् ।
सोही कसुरमा ललितपुर जिल्ला अदालतमा २०८० भदौ ५ गते मुद्दा दर्ता गरिएको थियो । न्यायाधीश बख्रेलको एकल इजलासले गत जेठ १३ गते मालीविरुद्ध मानव बेचविखन तथा ओसारपसार कसुरमा दोषी ठहर गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्