दुनाटपरी उद्योगमार्फत उद्यमी बन्दै महिला
कञ्चनपुर, शुक्लाफाँटा नगरपालिका-६ कसरौलकी ४८ वर्षीया कन्या राना एक वर्षदेखि दुनाटपरी बनाउने पेसामा संलग्न हुनुहुन्छ । सालको पातलाई मेसिनमार्फत एकापसमा गाँसेर दुनाटपरी बनाउँदै आउनुभएको हो ।
पाँच प्रकारका दुनाटपरी उहाँले एक वर्षदेखि मेसिनमा राखेर बनाउँदै आउनुभएको छ । उहाँले उत्पादन गरेका दुनाटपरी महेन्द्रनगर, धनगढीका व्यापारीले घरमै पुगेर खरिद गर्छन् । गाउँघरमा भोजभतेर, विवाह, व्रतबन्ध, सत्यनारायण कथालगायत धार्मिक आयोजनलगायतका अवसरमा प्रयोग हुने दुनाटपरी बनाउने जिम्मा उहाँलाई नै दिइने गरिन्छ ।
उहाँले यसैमार्फत मासिक रु पाँच हजारदेखि रु १० हजारसम्म उहाँले कमाई गर्दै आउनुभएको छ । विवाहलगायतको याममा एकै महिनामा रु २५ हजारदेखि रु ३० हजारसम्म कमाई हुने गरेको उहाँ बताउनुहुन्छ ।
“एक वर्षअघि दातृ निकायले सञ्चालन गरेको तालिममा सहभागी हुँदा दुनाटपरी बेचेर पनि कति नै कमाई होला भनेर पहिला सोच्ने गर्दथे”, उहाँले भन्नुभयो, “दातृनिकायले मेसिन अनुदान दिएर महिलाको समूह बनाइदियो, केही दिन समूहका महिलासँग कार्य गरे, सुरुसुरुमा थोरै कमाई हुँदा आबद्ध महिलाले साथ छाडे ।”
त्यसपछि एक्लैले कामलाई निरन्तरता दिँदा ठाउँठाउँमा चिनजान बढेसँग दुनाटपरीको माग आउन थाल्यो । अहिले नसोचेको कमाइ हुँदा आफैँ दङ्ग पर्ने गरेको उहाँ बताउनुहुन्छ । “पढेलेखेको थिइन्”, उहाँले भन्नुभयो, “अधिकांश समय मेलापात र घरकै भान्साको काममा व्यस्त हुन्थे, आफूलाई आवश्यकता परेका बेला श्रीमान्कै मुख ताक्नु पर्दथ्यो ।”
गाउँमै दुनाटपरी बनाउने तालिम आएपछि सहभागी भए सीप सिकेपछि अहिले त्यसैबाट घर खर्च चल्न थालेको उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिला श्रीमान्बाट पैसा माग्थेँ, अहिले पैसा नभएका बेला श्रीमान्ले माग्नुहुन्छ , परनिर्भरता भएर बस्नुपरेको छैन ।” सीप सिकेपछि कामलाई निरन्तरता दिए बेरोजगार भएर बस्नु नपर्ने उहाँ सुनाउनुहुन्छ । रुख चढेर सालका पात टिप्न नसक्ने भएकाले उहाँले अरुले टिपेका पात किनेर दुनाटपरी बनाउनुहुन्छ ।
देखतभूलीका बासिन्दाले रुखबाट टिपेका पात प्रतिबोरा रु दुई सयदेखि रु तीन सयमा खरिद गर्नुहुन्छ । “पात टिप्नेले पनि रोजगारी पाएका छन्, मैले पातबाट दुनाटपरी बनाएर उद्यम चलाउन थालेको छु”, उहाँले भन्नुभयो । उहाँले सानो दुनाटपरी प्रतिगोटा एक रुपैयाँ पचास पैसादेखि रु दुई र ठूलो रु पाँच प्रतिगोटाका हिसाबले बेच्नुहुन्छ । एक सय वटा दुनाटपरीको प्याकेट बनाएर बजारमा बिक्री हुने उहाँ बताउनुहुन्छ ।
उहाँ जस्तै कैलालीको गोदावरी नगरपालिको अत्तरियाका हिरा घर्तीमगरले पनि दुनाटपरी बनाउने उद्योग नै खोलेर उद्यम गर्दै आउनुभएको छ । उद्योगमा उहाँले चार जनालाई रोजगारी पनि दिनुभएको छ । उहाँको दुनाटपरी उद्योगको वार्षिक आम्दानी रु तीन लाख ५० हजारदेखि रु पाँच लाखसम्म हुने गरेको छ ।
पाँच वर्षअघि घर्तीले रु ५० हजार लगानीमा मेसिन खरिद गरी दुनाटपरी उद्योग सञ्चालनमा ल्याउनुभएको हो । “काम सानो र ठूलो हुँदैन”, उहाँले भन्नुभयो, “सानै काम गरे पनि जीवन सहजरुपमा चलाउन सकिन्छ, त्यसका लागि लगनशीलता आवश्यक पर्छ ।”
हिन्दू संस्कारअनुसार जन्मदेखि मृत्युसम्म दुनाटपरीको आवश्यकता पर्ने उहाँ बताउनुहुन्छ । दुनाटपरी स्थानीय अत्तरिया, धनगढी, महेन्द्रनगरलगायत बजारमा मात्रै नभएर डडेल्धुरा, डोटीको दीपायल, कास्कीको पोखराबाट माग आउने गरेको छ । दैनिक दुई हजार दुनाटपरी उहाँको उद्योगबाट उत्पादन हुने गरेको छ ।
यस वर्ष वन क्षेत्रमा अधिक डढेलो लाग्दा मागअनुसार पातको आपूर्ति गर्न नसक्दा उत्पादन थोरै हुँदा आम्दानी घटेको उहाँको भनाइ छ । “सिधै माग भएका ठाउँमा पुर्यउन सकिए आम्दानी सोचेभन्दा बढी नै हुन्थ्यो”, उहाँले भन्नुभयो, “विचौलीयाले बढी नाफा खाने भएकाले उत्पादन गर्नेले थोरै आम्दानीमै चित्त बुझाउनु परेको छ ।”
दुनाटपरीको उद्योग सञ्चालनसँगै घर्तीले माग भएका ठाउँमा प्रशिक्षक भएर दुनाटपरी बनाउने तालिममा प्रशिक्षण दिने काम गर्दै आउनुभएको छ । “उद्योगको कमाई त छँदैछ”, उहाँले भन्नुभयो, “यसका अतिरिक्त तालिममा प्रशिक्षक भएर काम गरेबापत कमाई हुने गरेको छ ।”
शुक्लाफाँटा नगरपालिकाको उद्यम शाखका संयोजक धनबहादुर चौधरी दुनाटपरीको प्रयोगले प्लास्टिकका प्लेटले जस्तो वातावरणमा प्रदूषण नगर्ने र स्वास्थ्यमैत्री भएकाले यसको प्रयोगलाई बढावा दिनुपर्ने बताउनुहुन्छ ।
“दुनाटपरीको प्रयोगलाई बढावा दिन जनचेतनाको खाँचो छ”, उहाँले भन्नुभयो, “दुनाटपरी एकपटकका लागि प्रयोगमा ल्याइने भएकाले सङ्क्रामक रोगबाट बच्न सकिन्छ, त्योसँगै होटेललगायतका व्यवसायमा संलग्नले दुनाटपरीको प्रयोगलाई बढावा दिए भाँडाकुँडा धुनका लागि कामदार राखिरहनु पर्दैन ।”
शुक्लाफाँटा नगरपालिका–७ का अध्यक्ष चक्रबहादुर खड्का दुनाटपरी बनाउने तालिम सञ्चालन गरी आर्थिकरुपमा विपन्न परिवारको जीवनस्तर माथि उठाई स्वरोजगार बनाउनका लागि काम अगाडि बढाएको बताउनुहुन्छ ।
“दुनाटपरी सीपमूलक तालिम सञ्चालन गरी विपन्न परिवार, महिला, दलित, जनजाति, युवालाई स्वरोजगारमा संलग्न गराउने योजना छ”, उहाँले भन्नुभयो, “त्यसका लागि वडाको बजेटले भ्याउने गरी मागका आधारमा तालिम सञ्चालन गरिरहेका छौँ, केहीलाई चालु आवमा तालिममा सहभागी गराएका छौँ, बाँकीलाई आगामी आवको तालिममा संलग्न गराई अनुदानमा मेसिनको व्यवस्था गरी दुनाटपरी उद्योगमा आबद्ध गराउँछौँ ।”
प्रतिक्रिया राख्नुहोस्