करोडौं खर्चिएर बनाइएका प्रमुख पर्यटकीय गन्तव्यका चार विमानस्थल प्रयोगविहीन
मुलुकको प्रमुख पर्यटकीय गन्तव्य रहेको गण्डकी प्रदेशका चार जिल्लामा करोडौं रुपैयाँ खर्चिएर बनेका विमानस्थल दशक बितिसक्दा पनि प्रयोगमा आउन सकेका छैनन् ।
दशकअघि बनेका मनाङको हुम्डे, गोरखाको पालुङटार, बागलुङको बलेवा र ढोरपाटन विमानस्थल लामो समयदेखि बन्द अवस्थामा रहेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पूर्वाधारतर्फ हुम्डेमा रु दश करोड, पालुङटारमा रु सात करोड, बलेवामा रु १२ करोड र ढोरपाटन विमास्थलमा रु दुई करोड खर्च भएको छ ।
मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा रहेको हुम्डे विमानस्थलको धावनमार्ग कालोपत्र भएको एक दशक बितिसक्दा पनि विमानस्थल सञ्चालनमा आउन सकेको छैन । प्राधिकरणले विसं २०६९ मा रु नौ करोड खर्चेर हुम्डेमा धावनमार्ग कालोपत्र गरेको थियो ।
धावनमार्ग कालोपत्र भएपछि विसं २०७६ भदौमा समिट एयरको विमानले विमानस्थलमा परीक्षण उडान भरेको थियो । परीक्षण उडान सफल भएपछि नियमित उडान हुनेमा आशावादी रहेका मनाङवासी अहिले भने निराश छन् ।
लाखौँ रकम खर्चेका हुम्डे विमानस्थल परीक्षण उडानमै सीमित रहेकामा सदरमुकाम चामेका पर्यटन व्यवसायी फुर्वा छिरिङ लामाले गुनासो गर्नुभयो ।
“विसं २०३९ देखि २०६८ सम्म विमानस्थल नियमित चल्यो, अहिले बन्द अवस्थामा छ । यात्रुको अभाव भएर पनि नचलेको हुनसक्छ तर लगानी गरिसकेपछि त्यसको उपयोग त गर्नुपर्छ नि”, उहाँले भन्नुभयो ।
मनाङ पुग्ने अधिकांश पर्यटक पदयात्रामार्फत तिलिचो ताल र थोरङ भञ्ज्याङ हुँदै मुस्ताङतर्फ जाने गरेका छन् । मनाङमा सडक आउनुअघि स्थानीयवासी जहाजबाटै आवतजावत गर्ने गरेको लामाले बताउनुभयो । विसं २०६९ मा मनाङ सदरमुकाम चामेमा सडक पुगेको थियो । सडक यातायातको सुविधापछि विमान चढ्ने यात्रु घटेको अनुमान गरिएको छ ।
बागलुङ नगरपालिका–१४ स्थित बलेवा विमानस्थल पनि नियमित उडानका लागि तयारी अवस्थामा छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन वर्षअघि रु आठ करोड २४ लाख खर्चेर विमानस्थलको धावनमार्ग कालोपत्र गरेको थियो ।
विसं २०२२ मा बनेको यो विमानस्थल पोखरा–बागलुङ सडक बनेपछि विसं २०४८ मा बन्द भएको थियो । छब्बिस वर्षपछि विसं २०७४ चैत ९ गतेदेखि पुनःसञ्चालनमा ल्याइएकामा त्यसले पनि निरन्तरता पाउन सकेन, केही महिनापछि विमानस्थलमा उडान बन्द बन्द गरियो ।
त्योबेला नेपाल र तारा एयरलाइन्सको ट्विनअटर विमानले हप्ताको दुई दिन उडान भर्थे । १९ सिट क्षमताका जहाजमा १२ भन्दा कम यात्रु भए बागलुङ नगरपालिकाले भार व्यहोर्ने गरी नागरिक उड्डयन प्राधिकरण, विमान कम्पनी र नगरपालिकाबीच सम्झौता भएको थियो । पछि यात्रु पनि घटेर नगरपालिकालाई आर्थिक बोझ थपिँदै गएपछि विमान सेवा बन्द हुन पुगेको हो ।
विमान कम्पनीले सुरुमै बागलुङ–काठमाडौँको भाडादर ६५ सय तोकेपछि यात्रुले महँगो भएको गुनासो गरेका थिए । विमानस्थल पुग्ने सडक स्तरहीन हुनु र धावनमार्ग कालोपत्र नहुँदा पनि विमान सेवा नियमित सञ्चालन गर्नु चुनौतीपूर्ण थियो । अहिले धावनमार्ग कालोपत्र गरिएको भए पनि विमानस्थल बन्द छ भने अब कहिलेदेखि सञ्चालनमा आउँछ भन्ने टुङ्गो छैन ।
प्राधिकरणले धावनमार्गको सात सय मिटर लम्बाइ र ३० मिटर चौडाइ कालोपत्र गरेको छ । जसमा साना तथा मझौला जहाजले उडान भर्न सक्छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा गठित परामर्शदाता समूहले दुई वर्षअघि बलेवा विमानस्थलको स्थलगत अवलोकनसमेत गरेको थियो ।
धावनमार्ग, टावर र भौतिक पूर्वाधारको अवस्था देखेपछि अध्ययन समूहले विमानस्थल सञ्चालनका लागि तयारी अवस्थामा रहेको निचोड निकालेको थियो ।
परामर्शदाता समूहका प्रमुख डा जनकराज शाहले कर्मचारी, विमान कम्पनी र यात्रु भएमा जनुसुकै बेला विमानस्थल सञ्चालनमा ल्याउन सकिने बताउनुभएको थियो ।
उहाँले सरकारले करोडौँ खर्च गरेर बनाएको विमानस्थललाई धेरै समय प्रयोगविहीन अवस्थामा राख्न नहुनेमा जोड दिनुभएको थियो । नियमित विमान सेवाको सुनिश्चितता, भाडादर समायोजन र विमानस्थलसम्म पुग्ने सडकको पहुँच स्तरीय हुनसकेमा विमानस्थल चलाउन सकिनेमा स्थानीय जनप्रनिनिधि विश्वस्त छन् ।
बागलुङ–१ मालढुङ्गादेखि विमानस्थल जोड्ने कालीगण्डकी करिडोरको १० किमि सडक अहिले पनि कच्ची छ । सरकारले यसखण्डमा कालोपत्रका लागि ठेक्का प्रक्रिया सुरु गरे पनि कामले गति लिन सकेको छैन ।
बागलुङ–१४ का वडाध्यक्ष चक्रबहादुर खत्रीले विमानस्थल जोड्ने सडक स्तरीय नभएसम्म विमानस्थल चलाउन कठिनाई हुने बताउनुभयो । “भर्खरै विमानस्थल सञ्चालन गरौँ भन्ने अवस्था छैन, पहिले त्यहाँ पुग्ने सडकलगायत अरु पूर्वाधार बनेपछि नागरिक उड्डयन प्राधिकरण र विमान कम्पनीलाई पनि भन्न सजिलो हुन्छ”, उहाँले भन्नुभयो ।
यो खण्डमा दश किमि कालोपत्र भएमा विमानस्थलसम्म राष्ट्रिय राजमार्गको सहज पहुँच पुग्छ । वडाध्यक्ष खत्रीले पहुँचमार्ग निर्माण र विमानस्थल सञ्चालनका लागि नगरमार्फत सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराइसकिएको बताउनुभयो । बलेवा विमानस्थल चलेमा यस क्षेत्रको पर्यटन व्यवसाय उकासिनुका साथै आर्थिक, सामाजिक विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।
सरकारले भने आगामी आवको नीति तथा कार्यक्रममार्फत बलेवा, हुम्डेलगायत बन्द अवस्थामा रहेका विमानस्थललाई प्याराग्लाइडिङ, स्काइडाइभिङलगायत साहसिक खेलस्थलका रुपमा विकास गर्ने लक्ष्य लिएको छ ।
गोरखाको पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तनले पालुङटार विमानस्थलको स्तरोन्नति गरी सञ्चालनमा ल्याउने योजना अलपत्र परेको बताउनुभयो ।
“पालुङटार विमानस्थलाई हवाई तालिम केन्द्र या अन्य कुनै प्रयोजनमा लगाउनु उपयुक्त देखिन्छ, तत्कालै विमानस्थल सञ्चालनमा आउने सम्भावना देखिन्न”, उहाँले भन्नुभयो, “काठमाडौँ र पोखरा जोड्ने राजमार्गको स्तरोन्नति हुँदा यस क्षेत्रमा यातायात सेवा नै बढी प्रभावकारी हुने देखिन्छ ।” मुग्लिन–पोखरा सडक अहिले चार लेनमा विस्तार भइरहेको छ । काठमाडौँ–मुग्लिन सडक पनि स्तरोन्नतिको चरणमा छ ।
सडक सुविधा नहुँदा यात्रु ओसारपसार र सामान ढुवानीका लागि प्रभावकारी बनेका विमानस्थल हाल प्रयोगविहीन छन् । विसं २०१८ मा सञ्चालनमा आएको पालुङटार विमानस्थल विसं २०३५ देखि बन्द अवस्थामा रहेको प्रमुख चिन्तनले जानकारी दिनुभयो ।
काठमाडौँ–पोखरा जोड्ने पृथ्वी राजमार्ग बनेपछि यो विमानस्थल बन्द हुन पुगेको उहाँको भनाइ छ । विमानस्थल सञ्चालनका लागि धावनमार्ग, घेराबारलगायत पूर्वाधारका काममा सरकारले करोडौँ लगानी गरे पनि सञ्चालनमा आउन सकेको छैन ।
देशको एकमात्र सिकार आरक्ष रहेको बागलुङको ढोरपाटन उपत्यकाको ढोरपाटन विमानस्थल पनि दशकौँदेखि बन्द अवस्थामा छ । विमानस्थलको धावनमार्ग गौचरणमा परिणत भएको छ । बर्सेनि वन्यजन्तु सिकारका लागि विदेशी हेलिकप्टरमार्फत ढोरपाटन पुग्ने गरेका छन् । सडक यातायात पुगेपछि पर्यटकको आवागमन सहज बनेको छ ।
प्रतिक्रिया राख्नुहोस्