नेपाल क्रिकेट सङ्घ (क्यान)ले राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछानेलाई ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरेको छ ।
उच्च अदालतबाट सफाई पाएपछि विश्वकपका दुई खेल खेलेका सन्दीपलाई क्यानले यही जुलाई १ देखि डिसेम्बर ३१ तारिखसम्म ‘ए’ ग्रेडमा अनुबन्धित गरिएको जनाएको हो ।
क्यानले टी–ट्वान्टी अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय विकेट लिन सफल भएकामा लामिछानेलाई बधाई पनि दिएको छ । लामिछाने टी–ट्वान्टीमा सबैभन्दा कम खेलमा १०० विकेट लिने दोस्रो खेलाडी बनेका छन् ।
त्यसै गरी क्यानले सङ्घको आचारसंहिता उल्लङ्घन गरेको भन्दै नेपाली राष्ट्रिय महिला क्रिकेट खेलाडी अप्सरी बेगमलाई निलम्बन गरेको छ ।
शुक्रबार बसेको केन्द्रीय कार्यसमितिकोे बैठकले टोली व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै बेगममाथि थप छानबिन गरी आवश्यक निर्णय गर्न अनुशासन आयोगलाई जिम्मा दिने निर्णय गरेको हो ।
श्रीलङ्कामा यही जुलाई १९ देखि २८ तारिखसम्म हुने महिला टी–२० एसिया कपको तयारीका लागि नेपाली महिला क्रिकेट खेलाडीको बन्द प्रशिक्षण चलिरहेको छ । सोही क्रममा बेगमले टोली व्यवस्थापक र प्रशिक्षकमाथि अभद्र व्यवहार गरेको भन्दै बेगमलाई क्यानले तत्कालका लागि निलम्वन गरेको जनाएको छ ।
यस्तै बैठकले क्यान उपाध्यक्ष रोशनकुमार सिंहसँगै केन्द्रीय सदस्य माधवकुमार कर्माचार्य, दुर्गाराज पाठक र सुनसरी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष चेतनाथ पौडेललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
उनीहरूले अमेरिका र वेस्ट इण्डिजमा हालै सम्पन्न टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताबारे आधारहिन विषयवस्तुको प्रचारप्रसार गरेको भन्दै स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।
यसै गरी त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको ‘पिच’ पुनःनिर्माण गरी स्तरोन्नति गर्ने, प्रादेशिक क्रिकेट सङ्घसँग समन्वय गरी सातवटै प्रदेशमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको टर्फ विकेट निर्माण गर्ने निर्णय गरेको छ ।
त्यस्तै म्याच फिक्सिङमा अदालतबाट सफाइ पाएका क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवा गर्ने सम्बन्धमा सङ्घको अनुशासन समितिलाई एक हप्ताभित्र आवश्यक निर्णय गर्न जिम्मेवारी दिनेलगायतको निर्णय भएको क्यानका महासचिव पारस खड्काले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्