राजनीति

संविधान संशोधनमा श्रम आयोगको व्यवस्था हुन्छ : नेता कोइराला

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संविधान संशोधनका क्रममा श्रम आयोगको व्यवस्था गर्न पहल गरिने बताउनुभएको छ । स्व गिरिजाप्रसाद कोइरालाको जन्म शताब्दी वर्षका अवसरमा जिपी कोइराला श्रम प्रतिष्ठानले शुक्रबार आयोजना गरेको ‘शान्ति र क्रान्तिका नायक जिपी कोइराला’ विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले २०६३ सालको अन्तरिम संविधानमा व्यवस्था भएको श्रम आयोगको आवश्यकता अहिले पनि उत्तिकै आवश्यक रहेकामा जोड दिनुभयो ।

डा कोइराला

“अन्तरिम संविधानमा गिरिजाबाबुकै कारण श्रम आयोगको व्यवस्था गरिएको थियो, २०७२ सालमा संविधानसभाबाट जारी भएको संविधानमा जातीय आयोगको व्यवस्था गर्न सकिए पनि श्रम आयोग छुटेको हो, मैले त्यसबेला पनि श्रम आयोगको व्यवस्था गर्न पहल गरेको हुँ तर सकिएन, अब यसमा सहमति जुट्ने विश्वास छ,” नेता कोइरालाले भन्नुभयो । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीच भएको सहमति कार्यान्वयन गर्न नसकिए देशमा अप्ठ्यारो अवस्था आउने भएकाले यसमा चनाखो भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचन प्रणालीमा सुधार गर्न सकिए जनताले चाहेको पूरा हुने भएकाले पनि संविधान संशोधन गरिनुपर्ने नेता कोइरालाको भनाइ थियो । स्थिरताका लागि पनि निर्वाचन प्रणालीमा सुधार गरिनुपर्ने उहाँले बताउनुभयो ।

कांग्रेस सहमहामन्त्री जीवन परियारले कसैले प्रश्न उठाउन नसक्ने गरी कांग्रेस र एमालेबीच भएको सहमति अनुसारको सरकार सञ्चालन हनुपर्ने बताउनुभयो । श्रम आयोग स्थापना गर्न संविधान संशोधन गरिने उहाँले बताउनुभयो ।

कार्यक्रममा कांग्रेस नेताहरु पुष्कर आचार्य, लक्ष्मणबहादुर बस्नेत, विजयबहादुर स्वाँर, तेजेन्द्रजङ्ग कार्की, अजयकुमार राई, सुधा दाहाल, मातृकाप्रसाद शिवाकोटीलगायतले श्रमिक वर्गका हक अधिकार सुरक्षित गर्ने गरी संविधान संशोधन गर्न र श्रम आयोगको व्यवस्था गर्न माग गर्नुभएको थियो । सो अवसरमा प्रतिष्ठानका नवनिर्वाचित पदाधिकारी एवं सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.