स्याङ्जामा पहिरोमा पुरिएर तीनजनाको मृत्यु
स्याङ्जा जिल्लाको बिरुवा गाउँपालिका ६ लामाखेतमा शनिबार दिउँसो पहिरोमा पुरिएर तीनजनाको मृत्यु भएको छ ।
पहिरोले पुरिएर बिरुवा गाउँपालिका–६ माझकोट का ६७ वर्षीया हरिमाया शर्मा, सोही स्थानका ७१ वर्षीय माधव शर्मा र ६५ वर्षीया गुह्येश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले राससलाई बताउनुभयो ।
पहिरोको जोखिममा रहेका आफ्ना घरबाट सुरक्षित स्थानमा जानुभएका उहाँहरूको पुरिएर ज्यान गएको हो । उहाँहरूको घर नजिक आज बिहान पहिरो खसेको थियो ।
बिरुवा गाउँपालिका ६ का वडाध्यक्ष कृष्णबहादुर क्षेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउसो अचानक पहिरो खसेर घर पुरिँदा उहाँहरूको मृत्यु भएको हो । उक्त पहिरोमा परी पाँचजना घाइते भएका छन् । उनीहरूको स्थानीयवासी र बिरुवा प्रहरी चौकीको टोलीले उद्धार गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्