प्रधानमन्त्रीलाई तत्काल राजीनामा गर्न एमालेको आग्रह
नयाँ सत्ता गठबन्धन भएपछि सरकारको नेतृत्व गर्ने तयारीमा रहेको मुलुकको दोस्रो ठूलो दल नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई तत्काल राजीनामा दिन आग्रह गरेको छ ।
संघीय संसद भवनमा आइतवार बसेको पार्टी संसदीय दलको बैठकले सरकार अल्पमतमा परेकाले अविलम्व राजीनामा दिएर नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीसँग एमालेले आग्रह गरेको हो ।
नेकपा एमालेले नेपाली कांग्रससंग नयाँ सत्ता गठबन्धन गरेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ ले आगामी असार २८ गते संसदबाट विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रधानमन्त्रीले राजीनामा नदिइ विश्वासको मत लिए एमालेले त्यसको विपक्षमा मतदान गर्ने निर्णय पनि एमालेले गरेको छ ।
बैठकले नयाँ सरकार गठनका लागि काँग्रेससँग गरिएको समझदारीको स्वागत गर्दै मुलुकलाई राजनीतिक स्थिरता दिने, सुशासन, समृद्धि र विकासको कामलाई तिब्रता दिने काममा सहयोग गरेको निस्कर्ष निकाल्दै नेपाली काँग्रेसलाई पनि धन्यवाद दिएको छ ।
एमाले प्रमुख सचेतक महेश बर्तौलाले भन्नुभयो, ‘काँग्रेससँगको समझदारीलाई संसदीय दलले स्वागत गरेको छ । यस महत्वपूर्ण प्रक्रियामा सहभागी भएर अर्थात मुलुकलाई स्थायित्व, स्थिरता दिनेतर्फ, विकास, समृद्धि र सुशासनको बलियो स्थिर सरकार बनाउने प्रक्रियामा नेपाली काँग्रेसले जुन महत्वपूर्ण भुमिका निर्वाह गरेको छ, यसप्रति एमालेको यस संसदीय दलको बैठकले नेपाली काँग्रेसलाई धन्यवाद दिने निर्णय गरेका छौं ।’
‘हाम्रो पहिलो माग सम्माननीय प्रधानमन्त्रीज्युलाई आजै राजीनामा दिन सुझाव हो । तत्काल राजीनामा दिनुपर्छ । प्रधानमन्त्रीले राजीनामा दिनुभएन भने २८ गते माग्नुभएको विश्वासको मतको विपक्षमा एमालेको तर्फबाट मतदान गर्ने निर्णय गरेका छौं ।’
प्रतिक्रिया राख्नुहोस्