राजनीति

रविले पार्टी पनि ठगेका छन्, दुईवटा पासपोर्ट छ, छानबिन हुनुपर्छ : ढकाल

आफ्ना कुरा राखेर पत्रकारहरुका प्रश्नको उत्तर नदिई बाहिरिएपछि मुलुक पनि शंकाको घेरामा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले पार्टी सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठग्ने गरेको आरोप लगाउनुभएको छ ।

पार्टीको सबै पदीय जिम्मेवारीबाट हटाइएपछि बुधबार पत्रकार सम्मेलन गर्दै ढकालले लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको बताउँदै सहकारी मात्र होइन पार्टी पनि ठगेको आरोप लगाउनुभएको हो ।

ढकालको दावी छ, ऋण छ भनेर पार्टी कोषबाट रकम लैजाने काम भएको जनाउँदै पार्टीका जिम्मेवार पदाधिकारीलाई कुनै भुक्तानी नदिन भन्दै पारदर्शी रूपमा हरहिसाब राखेर मात्र खर्च गर्ने व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।

यसै गरी ढकालले पार्टी सभापति रवि लामिछानेमाथिको सहकारी र पासपोर्ट प्रकरणमा छानबिन गर्न पार्टीभित्रै उच्चस्तरीस्य समिति गठनको माग गर्नुभएको छ ।

रविसँग दुईवटा पासपोर्ट रहेको अरोप लगाउनुभएका ढकालले लामिछानेमाथि सर्वोच्च अदालतले नै अनुसन्धान गर भनेकाले पार्टीले पनि छानबिन समिति गठन गर्नुपर्ने बताउनुभयो ।

“हिजो उहाँ (रवि लामिछाने)ले आफूले कुनै सहकारीबाट ऋण लिएको छैन र आफूविरुद्ध जाहेरी पनि छैन भनिरहनुभएको थियो । तर सर्वोच्च अदालतले उहाँमाथि गम्भीर प्रश्न उठाएको छ । त्यसकारण पार्टीबाटै उच्चस्तरीय समिति बनाएर उहाँमाथि छानबिन गर्नुपर्छ ।”

यसै गरी उहाँले आफूले जनताको आवाज बोल्दा कारबाहीमा परेको दावी गर्दै अब जनतालाई नै सोध्न पुनः जनताको माझमा जाने पनि बताउनुभयो ।

उहाँले सभापति रवि लामिछानेलाई केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र शेरबहादुर देउवको शैली मन पर्न थालेकाले मुकुल ढकालको शैली कहाँ मन पर्छ भन्दै प्रश्न गर्नुभयो ।

यसै गरी ढकालले कांग्रेस र एमालेबीच संविधान संशोधनको सहमति भएपछि रास्वपाले प्रदेश खारेज र प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा उभिनुपर्ने पनि बताउनुभयो ।

पत्रकार सम्मेलन भनिए पनि मुकुलले कार्यक्रममा सभापति रवि लामिछानेमाथि अनेक आरोप लगाएर आफ्ना कुरा भनिसकेपछि पत्रकारहरुका प्रश्नको उत्तर नदिई बाहिरिनुभएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.