विश्व समाचार

रुसी सेनामा भर्ना भएर मृत्यु भएका भारतीयलाई रुसले नागरिकता दिने

रुसले युक्रेनसंगको युद्धमा ज्यान गुमाएका भारतीय नागरिकका परिवारलाई क्षतिपूर्तिवापत आर्थिक राहत र नागरिकता दिने प्रक्रिया अघि बढाएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै सम्पन्न गर्नुभएको दुईदिने भ्रमणका लागि मस्को पुगेका बखत रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेर रुसी सेनामा भर्ती भएका भारतीय नागरिकहरुको सुरक्षाको विषयमा छलफल गर्नुभएको थियो ।

छलफलको क्रममा पुटिनले रुसी सेनामा भर्ती भएका भारतीयहरुलाई फर्काउन सहमति जनाउनुभएको थियो । अहिले फेरि युक्रेनविरुद्धको लडाइँमा मारिएका भारतीय नागरिकका परिवारलाई राहत र रुसको नागरिकता दिने प्रक्रिया सुरु भएको खबरले भारतमा चर्चा पाइरहेको छ ।

रुसले विदेशी युवालाई आप्नो सेनामा भर्नाको आव्हान गरेपछि थुप्रै नेपाली तथा भारतीयहरु अवैध बाटोबाट त्यता पुगेका थिए । रुसी सरकारको सो निर्णयपछि एक परिवारले त रुसको नागरिकता लिन सहमति पनि जनाइसकेका छन् ।

गुजरातका अश्विन भाइ मांगुकियाले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, ‘रुस सरकारले मेरो खातामा ४५ लाख रुपैयाँ पहिले नै जम्मा गरिदिएको छ । १.३ करोड रुपैयाँ राहतमध्ये बाँकी रकम पछि दिने भनेका छन् । यसै महिनाको १५ वा २० तारिखमा बाँकी रकम पाउने आश छ ।’

अश्विन भाई मांगुकियाका छोरा हेमिलको २१ फेब्रुअरीमा भएको मिसाइल आक्रमणमा मृत्यु भएको थियो । उनी २३ वर्षका थिए । उनलाई एक एजेण्टले झुक्याएर त्यहाँ पुर्‍याएका थिए ।

एजेण्टले उनलाई रुसी सेनामा हेल्परको नोकरी दिलाउने आश्वासन दिएका थिए । तर हेमिललाई अरु भारतीय नागरिकहरुलाई जस्तै युक्रेनविरुद्धको लडाइँको अग्रमोर्चामा खटाइएको थियो ।

हेमिलका बुवा अश्विनले कपडा बजारमा मजदुरी गर्दछन् । उनले रुसको नागरिकता स्वीकार गर्ने पनि बताएका छन् । किन ? भन्ने प्रश्नमा उनले भनेका छन्, ‘हाम्रो देशमा समस्या यो छ कि हामीले धेरै कमाउन सक्दैनौं । भ्रष्टाचारीको देश हो हाम्रो ।’

यसै गरी हैदरावादका मोहम्मद अफसानका दाजु मोहम्मद इमरानले पनि बीबीसी हिन्दीसँगको कुराकानीमा अफसानका परिवारलाई रुस सरकारले राहत र नागरिकता दिने भनेको छ ।

मोहम्मद इमरानले भनेका छन्, ‘कागजी प्रक्रियाका लागि रुस जानुपर्ने भएको छ । उनीहरुले अफसानकी श्रीमती र दुई बच्चालाई नागरिकता दिने भनेका छन् । अफसानका दुई वर्षको छोरा र एक वर्षकी छोरी छिन् ।’

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.