कला/मनोरन्जनकलिउड

‘लोकर्नो चलचित्र महोत्सव’ मा छनोट भयो ‘शाम्बाला’

पहिलो चलचित्र ‘कालोपोथी’मार्फत अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा बलियो उपस्थिति देखाउनुभएका निर्देशक मीनबहादुर भामको निर्देशनमा तयार भएको दोस्रो चलचित्र ‘शाम्बाला’ स्वीट्जरल्याण्डको विश्वप्रसिद्ध ‘लोकर्नो चलचित्र महोत्सव’को ७७औँ संस्करणमा छनोट भएको छ ।

शाम्बाला

आगामी साउन २३ देखि भदौ १ गतेसम (अगस्ट ७ देखि १७ सम्म) चल्ने महोत्सवअन्तर्गत अन्तर्राष्ट्रिय चलचित्रको ‘पियाजा ग्राण्डे’ विधामा फिल्म छनोट भएको चलचित्र ‘शाम्बाला’को निर्माण टीमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । “नवीनतम र फरक चलचित्रका लागि लोकार्नो प्रख्यात छ । अन्तर्राष्ट्रिय मञ्चमा नेपाली कथावस्तुलाई प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ”, विज्ञाप्तिमा उल्लेख छ ।

निर्देशक भामले यो चलचित्र निर्माण गर्न आठ वर्ष लागेको बताउनुभयो । “हामीले आठ वर्षदेखि यसको निर्माण गरिरहेका छौँ, यो सफलता त्यो यात्रामा गरिएको दुःखको प्रतिफल हो, नेपाली चलचित्रलाई प्रतिनिधित्व गराउन पाउँदा हर्षित छौँ”, निर्देशक भामले भन्नुभयो ।

उहाँले चलचित्रको सुरुआत गर्दा ‘चिसो वर्ष’ नाम राखे पनि निर्माण पूरा भएपछि ‘शाम्बाला’ राखिएको जानकारी दिँदै यसमा मौलिकपना नहराओस् भनेर नेपालीसँगै तिब्बतको भाषा प्रयोग गरिएको बताउनुभयो । उच्च हिमाली गाउँकी एक गर्भवतीलाई श्रीमानले छाडेपछि आफ्ना देवरलाई लिएर उनको खोजीमा हिँडेको कथा प्रस्तुत गरिएको चलचित्रलाई निर्देशक भामले अविनाश विक्रम शाहसँग मिलेर लेख्नुभएको हो ।

डोल्पाको चार हजार दुई सयदेखि छ हजारको उचाइमा दृश्याङ्कन गरिएको चलचित्रमा थिन्ले ल्हामो, सोनम तोप्द्न, तेन्जिङ डल्हाल, कार्म शाक्यलगायतले अभिनय गर्नुभएको छ ।

निर्देशक भामद्वारा निर्देशित लघु चलचित्र ‘बाँसुल्ली’बाट पहिलोपटक नेपालबाट भेनिस अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रवेश भएको थियो भने उहाँको पहिलो निर्देशकीय चलचित्र ‘कालोपोथी’ले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कार (अवार्ड) जित्न सफल भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.