जन सरोकार

नारायणी किनारमा दुई जनाको शव भेटियो, वेपत्ता बसका यात्रु हुनसक्ने अनुमान

पूर्वी नवलपरासीको गैंडाकोटस्थित थुम्सीमा नारायणी नदी किनारमा दुईजनाको शव भेटिएको छ । ती शवहरु भरतपुर महानगरपालिका २९ सिमलताल पहिरोमा बससँगै बगेका यात्रुको हुनसक्ने आशंका गरिएको छ ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले गैडाकोट नगरपालिका ७ मा दुई जनाको शव भेटिएको र सनाखत हुन बाँकी रहेको एक सूचना मार्फत जानकारी गराउनुभएको छ ।

नदी किनारमा शवहरु देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए । प्रहरीका अनुसार एक जना १८र२० बर्षको र अर्को २५र३० बर्षको पुरुषको शव भेटिएको छ ।

ती शवहरुको बेपत्ताको खोजीका लागि भरतपुरमा आएका आफन्तहरुलाई देखाएर पहिचान गराइने प्रहरीले जनाएको छ ।

यसअघि शनिबार बिहान भरतपुर महानगरपालिका २८ गोलाघाटमा एक जना बसका यात्रु भारतीय नागरिकको शव फेला परेको थियो ।

शुक्रबार विहान भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो । नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् ।

एन्जल वीरगञ्जबाट काठमाडौँतर्फ र गणपति काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६५ यात्री रहेका थिए ।

शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र रुपमाभ भैरहेको छ । बेपत्ता बस तथा यात्रीको आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.