प्रबास

नेपाली साहित्य विकास परिषद युकेले मनायो भानु जयन्ती

बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेले आदिकवि भानुभक्त आचार्यको २ सय ११ औं जन्मजयन्ती विविध साहित्यिक कार्यक्रम गरी मनाएको छ ।

परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार तथा यती संस्थाका पूर्व अध्यक्ष डा. राघवप्रसाद धितालको प्रमुख आतिथ्यमा वेस्ट लन्डन, एक्टन स्थित ए बि आइ कलेजमा आयोजित उक्त समारोहमा पुस्तक विमोचन तथा सम्मान कार्यक्रम गरिएको थियो ।

समारोहमा नेपाली भाषा साहित्यको जागरण र सम्मान अभिबृद्धि गर्नमा आदिकवि भानुभक्तको योगदान गहन रहेको चर्चा गरिएका थियो ।

कार्यक्रममा परिषद्का अध्यक्ष कवि कोमल मल्ल लगायत परिषदका पदाधिकारी लेखकहरू ध्रुव केसी ,गोपाल पौड्याल आदि सर्जकका पुस्तकहरू प्रकाशन गरेर परिषदले नेपाली साहित्यको विकासमा थप योगदान पुर्याएको चर्चा गर्नु भयो ।

समारोहमा आदिकवि भानुभक्त आचार्यको जीवनीबारे प्रकाश पार्नुहुँदै भाषा साहित्य विश्लेषक कानुन् विध बुद्धिजीवी विचारक डा. धर्म थापाले त्यसवेला अत्यन्त अविकसित समाज रहेको इतिहासको त्यो कालखण्डमा आदिकवि भानुभक्तले नेपाली भाषामा जुन रामायणीय साहित्यको मौलिक लहर चलाए त्यो आफैमा एक साहसीक कदम थियो र जसले नेपाली साहित्यको यात्रा तथा सामाजको चेतना र एकता जागरण गर्नमा महत्वपूर्ण योगदान पुर्याएको चर्चा गर्नुभयो ।

सभापतिको आसनबाट बाल्नुहुँदै परिषदका अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद युकेले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै बेलायतमा भानु जयन्ती मनाउँदै आएको चर्चा गर्नुहॅुदै नेपाली पहिचान युगयुग सम्म जिवन्त राख्न हाम्रो भाषा साहित्य संस्कृति जस्ता चिनारीहरू जोगाउँदै लैजानु पर्ने बताउनुभयो ।

यसअघि परिषद्का पूर्व अध्यक्ष तथा बिबिसी नेपाली सेवाका पूर्व सञ्चालक खगेन्द्र नेपालीले कोमल मल्लको माटोसँग के मागुँ पुस्तक माथि समीक्षा गर्नुहुँदै पुस्तकभित्र कवि कोमलले सिङ्गो देश बोकेका छन् र विसङ्गती विकृतीप्रति निडर भएर उभिएको बताउनुभयो ।

यसै गरी परिषद्का संस्थापक तथा पूर्वअध्क्ष वरिष्ठ साहित्यकार सुरेशजङ्ग शाहले समारोहमा विमोचित ध्रुव केसी को इन्द्रेणी देखि बेलायतसम्म जीवनी र डा।गोपाल पौड्यालको प्रिय चरी खण्ड काव्य पुस्तकहरूवारे समीक्षा गर्नु भएको थियो ।

वरिष्ठ साहित्यकार शाहले लेखक ध्रुव केसीले इन्द्रेणीदेखि बेलायत सम्म पुस्तकमा आफ्नो जीवनका कलिला पक्षदेखि वर्तमान अवस्थासम्मको समयको गति र जीवन प्रवाह उतारेको चर्चा गर्नुभयो ।

यसै गरी शाहले डा. गोपाल पौडेलले प्रिय चरी खण्ड काव्यमा एक जोडी चराको दाम्पत्य जीवनको कथा बुनेर सृष्टि र चराचर जगतको अन्तर सम्वन्ध र सौन्दर्यलाई बढो मार्मिक श्लोकहरूमा एउटा दर्शन चित्रण गरेको चर्चा गर्नहुँदै प्रकृतिको रचनामा मानव जगत अरू चराचर जगत जतिकै सौन्दर्य प्रवाहक हुन नसकेको र विनासको कारक वनेकोले प्रकृतिलाई असैह्य बनाएको बताउनुभयो ।

कार्यक्रम सञ्चालन गर्नुहँदै परिषद्की सहअध्यक्ष डा. सुधा श्रेष्ठले सामाजिक एकता र चेतनाको विकासमा भानुभक्तको साहित्यिक योगदान अत्यन्त महत्वपूर्ण रहेको चर्चा गर्नुभयो ।

यस अघि स्वागत मन्तव्य दिनुहँदै परिषद्का सहअध्यक्ष रेशम अर्यालले जसरी समग्रहमा नेपाली भाषा साहित्यका कुरा आउँदा हामी सँधै आदिकवि भानुभक्तलाई सम्झने गर्दछौ र त्यसरी नै हामीले सिर्जनशील भएर नेपाली भाषा साहित्यको गोडमेलमा लाग्यौ भने आदिकवि प्रति सच्चा श्रद्धाञ्जलली पुग्ने बताउनुभयो ।

आदि कवि भानुभक्त आचार्यको तस्बिरमा माल्यापर्णबाट आरम्भ भएको समारोहमा परिषद्का पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार कवि हरिसिँह थापाले भानुभक्तका रामायणका श्लोकहरू वाचन गर्नु भएको थियो भने परिषद्का सल्लाहकार तथा पूर्व सहअध्यक्ष डा. गोपाल पौड्यालले भानुभक्तले आफ्ना छोरालाई लेखेको हस्त लिखित चिठी पढेर सुनाउनु भएको थियो ।

यस अघि समारोहमा प्रमुख अतिथि परिषद्का वरिष्ठ प्रमुख सल्लाहकार डा।राघवप्रसाद धितलले परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमल मल्लद्वारा लिखत माटोसँग के मागुँ कवितासङ्ग्रह, वरिष्ठ सहअध्यक्ष लेखक ध्रुव केसीद्वारा लिखित इन्द्रेणी देखि बेलायतसम्म जीवनी पुस्तक र सल्लाहकार वरिष्ठ कवि डा. गोपाल पौडेलद्वारा लिखित प्रिय चरी खण्ड काव्य पुस्तक गरी तीनवटा पुस्तकहरूको विमोचन गर्नु भएको थियो थियो भने परिषद्की सह अध्यक्ष कवयित्री डा. सुधा श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान गर्नुभएको थियो ।

दोस्रो चरणको कवि गोष्ठी कार्यक्रममा कविता वाचन गर्ने र वाचनकालागि कविता पठाउने कवि कवयित्रीहरूमा वसन्त रायक्षेत्री, हरिसंह थापा, ध्रुव केसी, रेशम अर्याल, रूकमणी मानन्धर, डा। सुधा श्रेष्ठ, डा।गोपाल पौडेल, कोमल मल्ल, सुरेशजंग शाह, घन बहादुर थापा मगर, वासु शर्मा र वासुदेव साप्कोटा हुनुहुन्थ्यो ।

कार्यक्रमको अन्तमा परिषद्को तर्फबाट अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्लबाट समारोहलाई सफल बनाउन आर्थिक तथा भौतिक सहयोग पुराउनुहुने विशिष्ट पदाधिकारी व्यक्तित्वहरू डा। राघव प्रसाद धिताल तथा डा. जनककुमारी धिताल, खगेन्द्र नेपाली, घनबहादुर थापा मगर तथा कृष्णा थापा मगर, ध्रुव केसी,गोपाल पौडेल,टंक भट्टराई महासचिव यति नेपाली एशोसियसन, कोहिनूर मल्ल, ज्ञानेन्द्र राउत, डा. सुधा श्रेष्ठ र एबिआइ कलेजका प्रोप्राइर डाइरेक्टर तथा परिषद्का सल्लाहकार कृष्ण भट्टमा हार्दिक धन्यवाद ज्ञापन गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.