जन सरोकार

धावनमार्ग छाडेको २० सेकेण्डमै भएको थियो सौर्य एयरको विमान दुर्घटना (मृतकको नामावलीसहित)

बुधबार बिहान ११ बजेर ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे ७–९ एनएएमई जहाजले त्रिभुवन विमानस्थलको धावनमार्ग छोड्यो । तर, उडेको २० सेकेण्डमै दुर्घटना भयो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यो जहाजको टावरसँग अन्तिम संवाद ‘क्लियर फर टेकअफ’ थियो । जुन एयर ट्राफिक कन्ट्रोलरले जहाज उडाउन पाइलटलाई दिने आदेश हो ।

सो जहाज मर्मतपछिको पूर्ण परीक्षण ‘सी–चेक’ का लागि पोखरा जाने क्रममा धावनमार्ग ०२ (कोटेश्वरतर्फ) उड्यो । त्यसको २० देखि २२ सेकेन्डमा जहाज ढलपल–ढलपल गर्न थाल्यो र हेर्दाहेर्दै दाहिनेतर्फ जहाज मोडियो र भुइँमा बजारिन पुग्यो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार जहाजसँगको एटीसीको अन्तिम संवादमा एयरक्राफ्टमा कुनै पनि समस्याबारे क्याप्टेनबाट जानकारी आएको थिएन ।

दुई क्याप्टनेसहित कुल १९ जना सवार रहेकोमा १८ जनाको मृत्यु भएको प्राधिकरणले पुष्टि गरिसकेको छ । यो दुर्घटनामा क्याप्टेन मनिषरत्न शाक्य घाइते छन् । उनको उपचार केएमसी अस्पतालमा भइरहेको छ ।

दुर्घटनाको समयमा मौसम सफा नै थियो । अन्य कुनै पनि वाह्य कारणले जहाजमा अवरोध आएको देखिएको छैन । जसले गर्दा दुर्घटना अझ रहस्यमय बनेको छ ।

भाग्यको कुरा हो, त्रिभुवन विमानस्थल छेउछाउ विभिन्न निर्माण कार्य जारी छ । जहाज बजारिएको स्थल वरपर निर्माण सामग्रीहरू देखिन्छन् । जसका कारण जहाज बजारिएर बस्तीसम्म पुग्न पाएन । जहाजलाई ती निर्माण सामग्रीले उछिट्टिनबाट रोकेको पाइएको छ ।

यो जहाजमा सौर्य एयरलाइन्सको उच्च व्यवस्थापनसहित कर्मचारीहरू सवार थिए । जहाज एक नियमित मर्मत तथा परीक्षण मानिने सी–चेकका लागि पोखरा उडेको थियो ।

पोखरा विमानस्थलका अनुसार त्यहाँस्थित ह्यांगरमा जहाज एक महिनासम्म राखेर मर्मत गर्न अनुमति लिइएको थियो । सी–चेकमा जहाज लैजानुको मतलब उडानयोग्य नहुँदै उडाइएको भन्ने अर्थ भने लाग्दैन । सी–चेक जहाज बिग्रिएर गर्ने मर्मत होइन ।

जहाजमा कुनै अदृश्य कमजोरीहरू समेत हुन सक्ने भएका कारण उडानयोग्य अवस्थामा पनि जहाजको नियमित परीक्षण हुन्छ । यसै सिलसिलामा हुने बृहत् परीक्षणका लागि जहाज पोखरा लगिँदै थियो । दुर्घटनामा सौर्य एयरलाइन्सका उच्च अधिकारीहरू समेत परेका छन् ।

दुर्घटानाग्रस्त विमानबाट चालक मनीष शाक्यलाई सकुशल उद्धार गरेर काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल लगिए पनि अन्यको भने सकुशल उद्धार हुन सकेन ।

जहाजमा को–पाइलट सुशान्त कटुवालका साथ सोर्य एयर अधिकारी सहितत १७ जना कर्मचारी रहेका थिए । जसमा अमित मान महर्जन, सागर आचार्य, दीलिप वर्मा, मनुराज शर्मा, अश्विन निरौला, सुदीप लाल जोशी, सर्वेश मरासिनी, श्याम विन्दुकार, नवराज आले,राजाराम आचार्य रहेका छन् ।

यसै गरी प्रिजा खतिवडा, अधिराज शर्मा, उद्धव पुरी, यज्ञ प्रसाद पौडेल, सन्तोष महतो, पुन्यरत्न शाही र आरिफ रेडा रहेका छन् । आरिफ भने यमनका विदेशी नागरिक हुन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.