क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले दोषी ठहर गरेको फैसलालाई उल्टाएर सफाई दिएको उच्च अदालतको फैसलाबिरुद्ध पुनरावेदन नगर्न पीडित भनिएकी युवतीको तर्फबाट निवेदन परेको छ ।
जिल्ला अदालतले क्रिकेटर सन्दिप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद फैसला गरेको थियो । जिल्लाले पीडितलाई नाबालिक भन्न नमिल्ने फैसला गरेको थियो ।
तर, उच्च अदालत पाटनले भने बलात्कारको वस्तुनिष्ठ प्रमाणको अभाव रहेको र पीडित नाबालिग नदेखिएको भन्दै लामिछानेलाई सफाइ दिएको थियो ।
उच्च अदालतको फैसला बदर गर्नुपर्ने मागसहित सरकारी वकिल र पीडित गौशाला २६ सर्वोच्च अदालतमा पुनरावेदनको निवेदन लिएर जाने बाटो खुला छ ।
समाचार अनुसार उच्च सरकारी वकिलको कार्यालय, पाटनमा लामिछानेविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन नगर्न आग्रह गर्दै गौशाला २६ को नामबाट निवेदन परेको छ ।
गत शुक्रबार मात्रै उच्च अदालतले गरेको फैसलाको फैसलाको पूर्णपाठ सार्वजनिक भएको थियो । पूर्णपाठमा बलात्कार भएको भन्न सकिने कुनै प्रमाण नदेखिएको उल्लेख छ ।
उच्च सरकारी वकिलको कार्यालय स्रोतका अनुसार एक किशोरी आएर निवेदन छाडेकी र उनले आफू नै पीडित भएको बताउँदै “मुद्दाको कारण अत्यन्त तनाव भयो, झेल्नै नसक्ने अवस्थामा पुगेँ । मैले उच्च अदालत पाटनको फैसला स्वीकार गर्छु । सर्वोच्च अदालतमा पुनरावेदन नगरिदिनुहोला” भन्ने आग्रह गरिएको व्यहोरा उल्लेख छ ।
प्रतिक्रिया राख्नुहोस्