राजनीति

निर्वाचन प्रणालीलाई संविधान संशोधनको विषय बनाउनुपर्छ

नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता साझेदारीको मुख्य समझदारी संविधान संशोधन रहेको खुलासा भएपछि यस विषयमा अहिले निकै विवाद रहेको छ । संविधान संशोधनको औचित्य र उपादेयताबारे स्पष्ट नपारी संशोधन गर्न नहुने धारणा नेताहरुबाट आइरहेको छ ।

यसबीच विज्ञहरूले संविधान संशोधनको औचित्यबारे छलफल गरेर मात्रै संशोधनको प्रक्रिया अगाडी बढाउनु पर्ने सुझाव दिएका छन् । जय नेपाल इन्टरनेशनल फाउण्डेशनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा सो सुझाव दिइएको हो ।

फाउण्डेसन अन्तर्गतको विश्व ज्ञान सञ्जाल (ग्लोबल नलेज नेटवर्क) द्वारा शनिवार आयोजित “नेपालको संविधान संशोधन : औचित्य र आवश्यकता” विषयक वेबिनारलाई सम्बोधन गर्दै संविधानविद् डा विपिन अधिकारीले एउटा कार्यदल गठन गरेर मात्र संविधान संशोधनको काम अगाडी बढाउनु पर्ने सुझाव दिनुभयो ।

काठमाडौँ विश्वविद्यालयको ‘स्कुल अफ ल’ का प्राध्यापक डा अधिकारीलेसंविधान ढुंगामा लेखिएको अक्षर होइन भन्दै आवश्यकता अनुसार, संसदीय प्रक्रिया अनुसार, संविधान संशोधन गर्न सकिने तर, संयुक्त सरकारमा रहेका अन्य दलहरू कसरी अघि बढ्छन् र अहिले कसरी बढ्ने भन्ने कुरा सार्वजनिक नगरिएको बताउनुभयो ।

संविधानविद् अधिकारीले नेपालको सन्दर्भमा निर्वाचन पद्धतिको कुरा निकै महत्वपूर्ण रहेको बताउँदै मिश्रित निर्वाचन प्रणाली हुँदा प्रत्यक्ष निर्वाचनका १६५ सिटमा पहिलो हुनेले जित्छन् भने बाँकी ११० जना समानुपातिकबाट निर्वाचित हुँदा स्थिर सरकार बन्न नसकेको बताउँदै यसलाई पनि संशोधन गर्नुपर्छ भन्ने कुरा आएको बताउनुभयो ।

वरिष्ठ अधिवक्ता सविता भण्डारी बरालले संविधान संशोधनको विषय समयसापेक्ष रहेको बताउँदै संविधानमा समानताको हक अन्तर्गत महिला र पुरुष बराबरीको कुरा गरिएको छ, तर नागरिकताको सवालमा नेपाली पुरुषले विदेशी महिलासँग विवाह गरी जन्मेका सन्तान वा नेपाली महिलाको विदेशी पुरुषसँगको विवाहबाट जन्मिएको बच्चाको नागरिकतामा विभेद रहेको बताउनुभयो ।

अमेरिकामा कार्यरत कानुनविद् खगेन्द्र जिसीले संविधानको मुख्य फोकस आर्थिक विकास हुनु पर्ने बताउनुभयो । लोकतन्त्रसँगै आर्थिक विकास पनि चाहिन्छ । जननिर्वाचित व्यक्ति लाई मात्रै संविधान संशोधनको अधिकार दिनुपर्छ।

संविधान र राजनीतिक दल, सात ओटा प्रदेश सरकार तथा स्थानीय सरकारले काम गरी रहेका छन् तर संघीयता र संसदीय प्रणाली म्याच गरी रहेको छैन ।

जय नेपाल इन्टरनेशनल फाउण्डेसनका केन्द्रीय अध्यक्ष डा यादव पण्डितले विदेशमा रहेका नेपालीहरूको सीप र अनुभव नेपालको विकासमा परिचालन गर्ने उद्देश्यले फाउण्डेसनले नियमित रूपमा अन्तरक्रिया तथा वेबिनारहरू आयोजना गरी रहेको बताउनुभयो ।

उहाँले फाउण्डेसनले चितवनबाट सार्वजनिक पुस्तकालय (मिनी लाइब्रेरी) बनाउने अभियान सुरु गरेको र देशभरि सुरु गरी एक हजारवटा मिनी लाइब्रेरी बनाउने योजना रहेको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “हामी नेपालको विकास प्रयासमा जोडिन चाहन्छौँ । यो केही न केही सकारात्मक काम गर्न इच्छुक साथीहरूको ननप्रफिट संस्था हो ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.