बागलुङ र गुल्मीमा पहिरो, ११ जनाको मृत्यु, छ घाइते, चारजनाको उद्धार
बागलुङ र गुल्मीमा पहिरोमा पुरिएर ११ जनाको मृत्यु भएको छ भने छजना घाइते भएका छन् । पहिरोमा पुरिएका चारजनाको जीवितै उद्धार गरिएको छ ।
मंगलबार बिहान बागलुङ बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र सोही पालिकाको वडा– १० आरुपाटास्थित जोगलाल बुढाको घर पुरिँदा पाँच जनाको मृत्यु भएको हो ।
बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये छजनाको शव निकालिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको छ । उनीहरू घाइते छन् । घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर छ ।
यसै गरी गुल्मीको मुसिकोट नगरपालिका–१ मा पहिरोले घर पुरिँदा चारजनाको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन् । उक्त नगरपालिकाको बिसौना बस्ने विष्णु विकको घर आज बिहान पहिरोमा पुरिँदा चारजनाको ज्यान गएको हो ।
स्थानीय सञ्चारकर्मी माधव खरेलका अनुसार पहिरोमा परी ४५ वर्षका गोरे विक, ६७ वर्षीय हुकुम विक, ६६ वर्षीया मसुरी विक र दुई वर्षीया रियन्सी विकको मृत्यु भएको हो ।
घाइते भएका दुईजनालाई सकुशल उद्धार गरिएको छ । नेपाल प्रहरी र स्थानीयको सहयोगमा उनीहरूको उद्धार गरिएको हो ।
प्रतिक्रिया राख्नुहोस्