भूपू श्रीमतीले गरेको अपचलनको दायित्व कसरी ममाथि आउँछ ?
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले मितेरी सहकारीको रकम अपचलन गरेको आरोपका खण्डन गर्दै सम्बन्ध बिच्छेद भएकी श्रीमतीको दायित्व आफूमाथि नहुने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उहाँले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्ध बिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने भन्दै आफूमाथि छानबिन गर्न माग समेत गर्नुभएको छ ।
सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले पत्नी ज्योति गुरुङ मितेरी सहकारीको ठगी प्रकरणमा दोषी रहेको भन्दै कांग्रेस नेता धनराज गुरुङमाथि छानबिन गर्न माग गर्नुभएको थियो ।
विगतमा पनि आफूलाई आरोप लाग्दा अदालतबाट निर्दोष प्रमाणित भएको भन्दै सांसद गुरुङले सहकारीको रकम अपचलनमा आफूमाथि कुनै पनि छानबिन गर्न माग गर्नुभयो ।
उपसभापति गुरुङले अहिले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको प्रतिवेदन आउने बेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले विषयान्तर गर्न मात्र आफ्नो विषय उठाएको आरोप पनि लगाउनुभयो ।
ज्योति गुरुङसँग सम्बन्ध राम्रो नभएपछि सम्बन्ध बिच्छेद गरेको र १० वर्षको बच्चा आफैंले हुर्काएको बताउँदै गुरुङले यो सम्बन्ध विच्छेद नक्कली प्रमाणित गर्न चुनौती पनि दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्