खेलविविध

बजेट अभावका कारण दुई वर्षदेखि खेलमैदान अलपत्र, बनेका संरचना पनि जीर्ण बन्दै

बागलुङ नगरपालिका–४ ओडारचौरमा नौ वर्ष अघि सुरु निर्माण भएको बहुउद्देश्यी खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो ।

खेलमैदान अलपत्र

स्थानीयको सक्रियतामा ठाडो खोल्सालाई सम्याएर मेलमैदान बनाउन थालिएको थियो । उक्त खेलमैदान निर्माण सुरु भएको नौ वर्षसम्ममा ७५ प्रतिशत मात्रै काम सकिएको ओडारचौर बहुउद्देश्यी खेलमैदानका अध्यक्ष रामप्रसाद आचार्यले बताउनुभयो ।

लामो समयदेखि काम रोकिएपछि बनेका संरचना जीर्ण भएका छन् भने प्याराफिटसमेत भत्किएका छन् । खेलमैदान निर्माणका लागि बागलुङ नगरपालिका, गण्डकी प्रदेश र स्थानीयले लाखौँ लगानी गरेका छन् ।

खेलमैदानका लागि उपयुक्त ठाउँ छनोट नहुँदा समस्या आएको स्थानीय बताउँछन् । ठोडो खोलामा बर्खाको समयमा भेल आउने हुँदा खेलमैदानसहित त्यहाँ बनेका संरचना बगाउने गरेको छ । यसबाट हरेक वर्ष लाखौँको संरचना नष्ट हुँदै आएको छ ।

बर्खाको भेलले सडकको माटो, ढुङ्गासहितको गग्रेटाले खेलमैदानको अस्तित्व मेटाइदिएको आचार्यको भनाइ छ । खेलमैदान वरपर झाडी पलाएको छ भने प्याराफिटमा लेउ लागेको छ । बीच भागमा हिलाम्मे हुँदा खेल खेल्न नमिल्ने बनेको छ ।

खेलमैदानका अध्यक्ष आचार्यका अनुसार खेलमैदान निर्माणका लागि हालसम्म स्थानीयबाट रु ३० लाख सङ्कलन भएको, प्रदेश र स्थानीय सरकारबाट रु ३० लाख र जनश्रमदानदान गरी करिब रु एक करोड लगानी भएको छ । “करोड लगानी भएको खेलमैदानमा अहिले खेल्नसक्ने अवस्था छैन । खेलमैदान प्रगति हालसम्म ७५ प्रतिशत सकिएको छ । बाँकी काम गर्न प्रदेश र स्थानीय सरकारले सहयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो ।

खेलमैदानलाई पूर्णता दिन थप रु ८० लाख आवश्यक पर्ने अनुमान गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो । बागलुङ बजारस्थित निर्माणाधीन उक्त खेलमैदानमा विभिन्न कार्यक्रम, सभा, सम्मेलन गर्न सकिने उहाँले बताउनुभयो ।

“यहाँका युवाको सक्रियतामा खेलमैदान बनाउन सुरु गरिएको हो, धेरै वर्ष भयो बनाउन थालेको अहिलेसम्म पूर्णता पाउन सकेको छैन । बागलुङ बजार छेउमा रहेकाले यहाँ सभा, समारोह गर्न उपयुक्त मानिन्छ ।

बजेट अभावले कामलाई निरन्तरता दिन सकिएको छैन”, अध्यक्ष आचार्यले भन्नुभयो, “यो ठाउँमा ठूलो खाल्डो थियो, खाल्डो पुरेर खेलमैदान बनाउन थालेका हौँ, ओडारचौरवासीले श्रमदानसँगै आर्थिक सहयोग पनि गर्नुभएको छ । यहाँबाट विदेश गएका युवाले पनि रकम पठाएर सहयोग गर्नुभएको छ ।” बजेट विनियोजन गरी निर्माणलाई निरन्तता दिन सरोकार भएका निकायसँग माग गरे पनि सुनुवाइ नभएको उहाँले बताउनुभयो ।

बागलुङ–४ का अध्यक्ष कुमार विक्रम क्षेत्रीले खेलमैदान निर्माण गरेको भूगोल नमिलेको भन्दै प्राविधिक कमजोरीका कारण अहिलेसम्म सम्पन्न हुन नसकेको बताउनुभयो ।

पहिले मैदान निर्माणमा सक्रिय कतिपय युवा विदेश पलायन भएको भन्दै अन्यले चासो नदिँदा समयमा काम हुन नसकेको उहाँको भनाइ छ । नगरपालिकाले पनि लाखौँ रकम यहाँ लगानी गरेको बताउँदै बर्खा लाग्यो भने खेलमैदान डुबानमा पर्ने अध्यक्ष क्षेत्रीले उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “यहाँ केही प्राविधिक कमीका कारण खेलमैदान सञ्चालन गर्न सकिएको छैन । अलपत्र परेको मैदान निर्माणका लागि प्राविधिक कमजोरी कसरी समाधान गर्ने भनेर सरोकार भएकासँग छलफल गर्ने योजना बनाएका छौँ ।

यसलाई पूर्णता दिन आर्थिक, प्राविधिक सहयोगका लागि नगरपालिका र प्रदेश सरकारसँग पहल गर्नेछु ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.