विश्व समाचार

लेबनानमा इजरायली आक्रमणमा २१ बालबालिकासहित २७४ जनाको मृत्यु

लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मृत्यु हुनेको सङ्ख्या दुई सय ७४ पुगेको बताउनुभयो । यसमा २१ जना बालबालिका छन् भने  हजारौँ परिवार बमबारीबाट भागेका छन् ।

इजरायली आक्रमण

“एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको छ । यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले पत्रकार सम्मेलनमा भन्नुभयो, “लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन् ।”

उहाँका अनुसार हिजबुल्लाह पेजर र वाकी–टाकीहरू विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । यसमा हिजबुल्लाह र क्षेत्रका अन्य इरान समर्थित समूहहरू हिंसामा तानिएका थिए ।

इजरायलले सोमबार दर्जनौँ आक्रमणमार्फत तीन सयभन्दा बढी हिजबुल्लाह स्थलमा प्रहार गरेको बताएको छ । हिजबुल्लाहले भने उत्तरी इजरायलका तीन स्थानलाई लक्षित गरेको बताएको छ ।

स्वास्थ्य मन्त्रालयले ‘बिहानदेखि दक्षिणी सहर र गाउँहरूमा इजरायली शत्रुको आक्रमण’ ले ‘एक सय ८२ जनाको ज्यान लिएको र अन्य सात सय २७ जनालाई घाइते बनाएको’ बताएको छ । मृतक र घाइतेहरूमा बालबालिका, महिला र स्वास्थ्यकर्मीहरू पनि छन् ।

विश्व शक्तिहरूले इजरायल र हिजबुल्लाहलाई पूर्ण युद्धको सङ्घारबाट पछि हट्न आग्रह गरेका छन् । पछिल्ला दिनहरूमा हिंसाको केन्द्र गाजासँगको इजरायलको दक्षिणी मोर्चाबाट लेबनानसँगको उत्तरी सीमातर्फ तीव्र रूपमा सरेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.